Indrenionline.com

चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’, १० वर्ष नेपाल आउन नपाउने

काठमाडौँ । कुख्यात अपराधी चार्ल्र्स शोभराजलाई नेपालबाट निकाला (डिपोर्ट) गरी फ्रान्स पठाइएको छ । ‘सिरियल किलर’, ‘बिकिनी किलर’ जस्ता नामले चिनिएका उनलाई शुक्रबार अध्यागनम विभागले १० वर्षसम्म नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको हो ।

उनी साँझ ६ बजेको कतार एयरवेजको विमानबाट स्वदेश फर्किका छन् । उनको कटारको दोहामा ट्राजिट हुने छ । १९ वर्षभन्दा बढी समय नेपालको केन्द्रीय कारागारमा जेल सजाय भुक्तान गरेका उनलाई रिहा गर्न सर्वोच्च अदालतले ६ पुसमा आदेश दिएको थियो । १५ दिनभित्र रिहा गरी उनकै देश पठाउन अदालतले दिएको आदेश अनुसार सरकारले शुक्रबार उनलाई डिपोर्ट गरेको हो ।

नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएपछि जेलमा परेका थिए ।लामो समय जेलमा बसेर छुटेका ७८ वर्षीय चाल्र्सले आफ्ना वकिल तथा सासु सकुन्तला विश्वास र पत्नी निहिता विश्वासलाई समेत नभेटी स्वदेश फर्किएका छन् ।

उनकै इच्चा अनुसार सरकारले मिडियाकर्मीलाई कुराकानी गर्न तथा फोटो खिच्न समेत नदिई उनलाई कडा सुरक्षाका बीच अध्यागमन विभाग र विमानस्थलसम्म लगेर डिपोर्ट गरेको हो ।

विमानमा चढ्नुअघि चार्ल्सले आफू फ्रान्समै क्रिसमस मनाउने भन्दै खुसी भएको प्रतिक्रिया दिएको अध्यागमनका कर्मचारी र प्रहरीहरुले बताएका छन् ।उनले आफूसँग मिडियालाई बताउने कुरा केही नभएकोले पनि भेट्न नचाहेको समेत कर्मचारीहरुलाई बताएका छन् ।