Indrenionline.com

नवनिर्वाचित सांसदको शपथ आज

काठमाडौं, ७ पुस । मंसिर ४ गतेको प्रतिनिधिसभाको चुनावबाट निर्वाचित प्रतिनिधिहरुले आज सपथ लिदैछन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपतिशमशेर जबराले आज नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन् । जबराले भने बुधवार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख नभएको अवस्थामा सबैभन्दा ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने संवैधानिक व्यवस्था छ । ८१ वर्षका ज्येष्ठ सांसद जबराले अन्य सांसदलाई दिउँसो १ बजे संघीय संसद् भवनमा शपथ खुवाउने कार्यक्रम छ ।

संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव रोजनाथ पाण्डेले इच्छुक सांसदका लागि मातृभाषामा पनि शपथ खान छुट गरिएको बताए । तर, उनीहरूले त्यसबारे पूर्वसूचना भने दिनुपर्नेछ । ‘कोही सांसद मातृभाषामा शपथग्रहण गर्न इच्छुक भए उहाँहरूलाई ११ बजेसम्म आफ्नो भाषामा उल्था गरिएको शपथको कपी उपलब्ध गराउन भनेका छौँ । तोकिएको समयभित्र आए त्यसलाई पनि हामीले शपथमा समावेश गर्नेछौँ,’ उनले भने ।

प्रवक्ता पाण्डेका अनुसार ज्येष्ठ सदस्य जबराले शपथग्रहणलाई कसरी व्यवस्थित गर्न सकिन्न भन्ने विषयमा छलफल गर्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा सबै दलका एक–एकजना प्रतिनिधिसहित पाँच निर्वाचित स्वतन्त्र सांसदलाई निम्ता गरिएको छ । ‘११ बजेदेखि १ बजेका बीचमा नवनिर्वाचित सांसदहरूको डकुमेन्ट भेरिफिकेसन र लोगो वितरण गर्ने कार्य छ । शपथग्रहणपछि संसदीय गतिविधि औपचारिक रूपमा अघि बढ्छ । राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको १५ दिनभित्र सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ ।