काठमाडौं, १ पुस ।कैलाली टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा आरोपीहरुलाई रिहाइको माग गर्दै माइतीघरमा धर्ना दिएका छन् ।
सरकारले टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई गत आइतबार छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका हुन् ।
थारु कल्याणकारिणी सभा, थारुहट–थारुवान संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी नागरिक उन्मुक्ति पार्टी, सङ्घ, सङ्गठन तथा व्यक्तिहरुको उपस्थिति छ ।
२०७२ भदौ ७ गते सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो । यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो ।
