काठमाडाैँ । क्यानडाको बाँफमा गत २९ अक्टोबरमा भएको इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) को साधारणसभामा सहभागी हुन गएकी नेपाल पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा उत्तै भागेकी छिन् ।
अल्पाइन क्लब अफ क्यानडाले गरेको सभामा सहभागी हुन संघका अध्यक्ष निमानुरु शेर्पाको टोलीसँगै उनी गत २८ अक्टोबरमा नेपालबाट क्यानडा उडेकी थिइन् । सभा सकिएलगत्तै टोलीमा सहभागी सबै नेपाल फर्किसकेका छन्, तर शेर्पा अझै फर्केकी छैनन् ।
टोलीमा संघका महासचिव मोहन लम्साल, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल सहभागी थिए । सभामा सहभागी हुन गएकी उनी एकाएक बेपत्ता भएपछि टोलीका सदस्यले उनलाई पटक-पटक सम्पर्क गर्न खोजेका थिए तर सम्पर्कमा नआएपछि उनलाई छाडेर टोली नेपाल फर्किएको थियो ।
संघका महासचिव लम्सालले शेर्पा सभामा भाग लिन गएको, तर सँगै नफर्किएको स्वीकार गरे । उनले भने, ‘शेर्पा सभामा भाग लिन जानुभएको हो । हामी फर्कियौँ, तर उहाँ फर्किनुभएको छैन । उहाँले क्यानडा जान तीन महिनाअघि नै भिसा अप्लाई गर्नुभएको रहेछ । त्यही क्रममा हामीकहाँबाट पनि भिसा लाग्यो । यसलाई संयोग नै मान्नुपर्यो । यद्यपि, उहाँलाई फर्काउन हामी कोसिस गरिरहेका छौँ ।’
महिना दिनसम्म पनि नफर्केपछि संघले विभिन्न माध्यमबाट सम्पर्क गरी नेपाल फर्कन भनेको थियो । उनी विवाह गर्नुपर्ने बहाना देखाउँदै फर्कन मानिरहेकी छैनन् । शेर्पा केही महिनाअघि मात्रै संघमा बोर्ड सदस्यमा निर्वाचित भएकी थिइन् । सगरमाथा आरोहणसमेत गरेकी उनी पत्रकार पनि हुन् । –नयाँ पत्रिकाबाट
