Indrenionline.com

फेरि प्रचण्ड प्रधानमन्त्री बन्ने संभावना छ?

काठमाडौं। बधुबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा पुगेर आफू तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताए।
उनले आफूसँग अब धेरै समय नरहेको र सबैको आर्शीवाद लाग्यो र सबैको माया र शुभकामनाले काम गर्यो भने भने आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने र त्यो आफ्नो तेस्रो कार्यकाल हुने उनको भनाइ थियो।

निर्वाचन आयोगले आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको परिणाम बुझाउँदैछ। आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाएपछि सरकार गठन प्रक्रिया सुरु हुन्छ। यसअघि नै सत्ता गठबन्धनबीच अहिले कै गठनबन्धनलाई निरन्तरता दिने सहमति भइसकेको छ।

तर गठबन्धनबीच शक्ति बाँडफाँटमा सहमति भइसकेको छैन। निर्वाचनमा तेस्रो तर निर्णायक शक्ति बन्ने माओवादीको योजना सफल नभएपनि प्रचण्डको प्रधानमन्त्री बन्ने मोह भने कम भएको छैन।

कांग्रेस र माओवादीबीच आलोपालो सरकार संचालन गर्ने सहमति भएपनि सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न नसकिरहेका बेला प्रचण्डले सार्वजनिक मंचबाट बेला बेलामा आफूलाई एक पटक फेरि देशको नेतृत्व गर्न मन भएको अभिव्यक्ति दिने गरेका छन्।

प्रचण्डको यो अभिव्यक्ति कांग्रेसलाई दबाव दिन हो वा उनी एमालेसँगल मिलेर फेरि प्रधानमन्त्री बन्न खोजिरहेका त छैनन् भन्ने प्रश्न उब्जिएको छ। निर्वाचनमा प्रमुख दल बन्ने एमालेको योजना सफल हुन नसकेपछि माओवादीसँग मिल्नुपर्ने आवाज एमालेभित्र मुखतिर हुन थालेको छ।

पार्टी विभाजन पछि पानी बारबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक निर्वाचनपछि प्रचण्डलाई फोन गरेर बधाइल दिइसकेका छन् भने अहिले पनि एमाले र माओवादीका दाेस्राे तहका नेताबीच भेटघाट र संवाद चलिरहेककै छ।