Indrenionline.com

अघिल्लो चुनाव हारेका नेता समानुपातिकबाट संसद छिर्ने लाइनमा

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक सांसद चयनका लागि दलहरूलाई आज शनिबार दिउँसो ४ बजेसम्मको समय दिएको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका दलहरू समानुपातिक सांसदको नाम चयन गर्न आज बिहानैदेखि छलफलमा जुटेका छन्।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा बसेको छ। समानुपातिकतर्फ ३२ सिट पाएको कांग्रेसको बैठकले सांसदको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

२९ जना महिला र ३ जना मात्रै पुरुष पठाउन पर्ने भएपछि नेताहरु सकसमा छन्। बन्दसूचीमा आयोगले तोकेका ६ वटै क्लस्टरको शीर्ष स्थानमा रहेका केन्द्रीय नेताहरुमध्ये ३ जना कसलाई लैजाने भन्नेमा सहमति जुटेको छैन। जसले गर्दा आकांक्षीबाहेककाे पदाधिकारी बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

त्यस्तै नेकपा एमाले पनि छलफलमा व्यस्त छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसिरहेको छ। एमालेले समानुपातिक तर्फ ३४ सिट जितेको छ । त्यस्तै माओवादी केन्द्र पनि छलफलमा छ।माओवादीको शुक्रबार पदाधिकारी बैठक बसेको थियो। बैठकले समानुपातिक सांसद चयन गर्ने सम्पूर्ण जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। माओवादीले १४ सिट जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि आजै सांसदको नाम टुंग्याउनेछ। जनमत पार्टीले भने शुक्रबार नै नाम चयन गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ र जसपा र जनमत पार्टीले पाँच/पाँच सिट समानुपातिकतर्फ जितेको हो।

२०७४ मा चुनाव हारेका नेता समानपातिकबाट छिर्ने दाउ

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित पाँच जना नेताहरू समानुपातिक सांसद बन्ने लाइनमा छन्। निर्वाचन आयोगले ०७४ सालमा समानुपातिक सांसद बनेकाहरूलाई यसपटक मौका नदिने निर्णय गरेसँगै दलहरूले अघिल्लो पटक मौका नपाएका नेताहरूलाई सांसद बनाउन लागेका हुन्।

यसपटक २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ पराजित उम्मेदवारहरूलाई दलले समानुपातिक कोटाबाट संसद प्रवेशको ढोका खुला गर्न लागेको हो। धनुषा ३ बाट पराजित नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि यसपटक संसद प्रवेशको तयारीमा छन्।प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका निधि मधेशी कोटाबाट संसद प्रवेशको तयारीमा छन्। अघिल्लो निर्वाचनमा उनी तत्कालिन राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोसँग पराजित भएका थिए।

महतोले तीस हजार ७५० मत पाउँदा निधिले २७ हजार ८४७ मत मात्रै पाएका थिए। देउवाले यसपटक निधिलाई सांसद बनाउने पक्कापक्की जस्तै छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि समानुपातिक कोटाबाट सांसद बन्ने तयारीमा छन्। २०७४ सालको निर्वाचनमा पराजय व्यहोरेका महत खसआर्य कोटाबाट सांसद बन्ने तयारीमा छन्। उनी खसआर्य समूहको पहिलो नम्बरमा छन्। अघिल्लो हारको स्वाद चाखेका महत सभापति देउवाको विश्वासपात्र मानिन्छन्।

उनी अघिल्लो निर्वाचनमा काठमाडौं–५  बाट नेकपा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए। पोखरेलले २३ हजार २९ मत पाउँदा महतले १३ हजार १६९ मत मात्रै पाएका थिए।  यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवा पनि समानुपातिक कोटाबाट सांसद बन्ने तयारीमा छन्। अघिल्लो चुनाव हरेकी  राणा महिलातर्फ पहिलो नम्बरमा छिन्।

यसपटक उनको संसद यात्रा पक्का छ।  २०७४ सालको निर्वाचनमा उनी कैलाली–५ बाट नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन्। नारद मुनि राणाले २७ हजार २०२ मत पाउँदा आरजुले  २२ हजार ३२२ मत पाएकी थिइन्। नेपाली कांग्रेसका सह–महामन्त्री गोपालमान श्रेष्ठ पनि सभानुपातिक कोटाबाट सांसद बन्ने लाइनमा छन्। २०७४ सालको निर्वाचनमा स्याङ्जा २ बाट पराजित भएका उनी यसपटक समानुपातिक कोटाबाट संसद प्रवेशको तयारीमा छन्।

तर, उनका लागि सांसद बन्न त्यति सजिलो भने छैन। आदिवासी जनजातितर्फ प्रत्यक्ष जितेका सांसद धेरै भएकाले श्रेष्ठको सम्भावना कम रहेको छ। श्रेष्ठलाई राष्ट्रियसभामा लैजाने तयारीमा भएको स्रोतले जानकारी दियो।अघिल्लो निर्वाचनमा श्रेष्ठ नेकपा एमालेकी पद्मा कुमारी अर्यालसँग पराजित भएका थिए। अर्यालले ३५ हजार १४२ मत पाउँदा श्रेष्ठले ३१ हजार ४३६ मत पाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबरा पनि समानुपातिक कोटाबाट सांसद बन्दैछन्।  २०६४ सालदेखि नै हार ब्यहोरेका जबरा यसपटक संसद छिर्ने पक्का जस्तै भएको हो। ०६४ बाट सिन्धुपाल्चोकबाट लगातार तीन वटा चुनाव हारेका जबरा यसपटक संसद छिर्ने पक्का जस्तै छ।   यो खबर थाहा खबर मा छ