Indrenionline.com

चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्थे, तर थ्रेसहोल्ड नै कटेन

निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए ।
तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । अर्थात् तीन लाख ल्याउन पनि हम्मे हम्मे परेको छ ।

डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले एक महानगरपालिका, एक उपमहानगरपालिका सहित १२ नगरपालिका प्रमुख, आठ गाउँपालिका उपाध्यक्ष, १९० वडाध्यक्ष सहित  निर्वाचित/निर्विरोध भएका ३५ हजार ९७ जनप्रतिनिधिमध्ये नेकपा एस को हिस्सा दुई दशमलव ८१ प्रतिशत हो ।

त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो । तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने सम्भावना न्यून छ ।

हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै दोलखाको समानुपातिक मत गन्न बाँकी छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, अहिलेसम्मको मतगणना हेर्दा त्यो सम्भावना छैन ।
राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउने छ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई निर्वाचित सासंदहरू संसदमा स्वतन्त्र दलको हैसियतमा रहनेछन् ।

बरु एमाले अध्यक्ष केपी ओलीले चुनावी भाषण र मिडियामा दिएको अन्तर्वार्तामा दाबीका साथ माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी नबन्ने बताएका थिए । चुनावी परिणामले एकीकृत समाजवादी त्यही बाटोमा अग्रसर भएको देखिएको छ ।