समानुपातिक मतगणना अन्तिम चरणमा पुगेका बेला निर्वाचनमा सहभागी भएका दलहरूमध्येमा जम्मा सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।
विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्नबाट बञ्चित रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दल सम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचनतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कम्तिमा एक सिटमा विजय प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसको अर्थ पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतका १६५ सिटमध्ये एक वा एक भन्दा बढी सिट जिते पनि समानुपातिक निर्वाचनतर्फ खसेको कुल मतको तीन प्रतिशत मत प्राप्त गर्न नसके उक्त दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सक्दैन । यद्यपि त्यस्तो दललाई संसदमा प्रतिनिधित्व गर्न भने कुनै समस्या रहन्न ।
अब केही हजार मात्र मत गणना हुँन बाँकी रहेको अवस्थामा तीन प्रतिशतको थेस्रहोल्ड सातवटा दलले मात्र कटाउन सकेका छन् । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १६४ निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सकिएको छ भने बाजुरामा मतगणना जारी छ ।
अहिलेसम्म समानुपातिक तर्फ एक करोड चार लाख २० हजार १२५ मत सदर भएको छ । थ्रेसहोल्ड कटाउन कुनै पनि राजनैतिक दलको चुनाव चिह्नमा तीन लाख ३१२ हजार ६०४ मत खस्नुपर्नेमा हुन्छ ।
नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी ,जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टीले थेस्रहोल्ड पार गर्दा नेकपा (एकीकृत समाजवादी) सहित ४० दलहरूले थ्रेसहोल्ड पार गर्न नसक्ने तथ्याङ्कले देखाउँछ ।
समानुपातिकमा कसले कति सिट पाउँछन्
प्रतिनिधि सभाका कुल २७५ सिट मध्ये ११० सिट समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था नेपालको संविधानले गरेको छ । यसका लागि समानुपातिक तर्फ खसेको गणनायोग्य मतलाई ११० ले भाग गरिन्छ र भाग गर्दा आउने संख्या बराबर एक उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
समानुपातिक सिट बाँडफाँड गर्दा विभिन्न दलहरूले समानुपातिकमा पाएको कूल सदर मतको योगफल निकालिन्छ । अहिलेको अवस्थामा सदर मत एक करोड चार लाख २० हजार १२५ हो । बाजुरामा मतगणना भइरहेको हुनाले यो सङ्ख्या थप १० देखि २० हजारले बढ्ने अनुमान गर्न सकिन्छ ।
कुनै पनि दलले समानुपातिक निर्वाचन अन्तर्गत प्राप्त मत ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको खण्डमा उक्त पार्टीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पाएको भोट मार्फत् कुनै पनि उम्मेदवार जिताउन पाउँदैन । यसले गर्दा प्रत्यक्ष निर्वाचनमा जति धेरै सिट ल्याए पनि समानुपातिक तर्फ पाएको मत यसै खेर जान्छ ।
कूल सदर मत र त्यसको तीन प्रतिशतको हिसाव निकालेपछि तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूले पाएको मत घटाएर तीन प्रतिशत वा सो भन्दा बढी मत ल्याएका दलहरूको मतको योगफल निकालिन्छ । अहिलेको अवस्थामा तीन प्रतिशत भन्दा कम मत पाएका ४० राजनैतिक दलहरूले समानुपातिकमा पाएको मतको योगफल १२ लाख ८२ हजार ७४९ हुन्छ ।
सबै दलहरूको कूल योगफल (एक करोड चार लाख २० हजार १२५) बाट थ्रेसहोल्ड नकटाउने दलहरूले पाएको मतको योगफल (१२ लाख ८२ हजार ७४९) घटाउँदा आउने सङ्ख्या भनेको ९१ लाख ३७ हजार ३७६ हो ।
अब उक्त सङ्ख्या (९१,३७,३७६) लाई समानुपातिक सिट सङ्ख्या (११०) ले भाग गरिन्छ र आएको भाजकले थ्रेसहोल्ड कटाएका दलहरूले पाएको मतलाई भाग गरिन्छ । त्यसपछि आउने सङ्ख्या भनेको दलहरूले पाउने सिट सङ्ख्या । यदि उक्त सङ्ख्या दशमलवमा आएमा त्यसलाई शून्यान्तर गरेर सग्लो अंक निकालिन्छ ।
