Indrenionline.com

निर्वाचन परिणाम सुखद संकेत होइन : अध्यक्ष तिमिल्सिना

१७ मंसिर, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् ।

स्थापित दलहरु माथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ छ । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न वौद्धिक समुदायलाई आग्रह समेत गरे ।

‘लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरु पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद् छ त ? …पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, कांग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र, स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि ?’

उनले अहिले दलहरुको भविष्यप्रति घण्टी बजेको पनि टिप्पणी गरे । सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले

समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि अध्यक्ष तिमिल्सिनाले धारणा राखे ।अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाइ गर्न नहुने बताए ।