एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् ।
मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा नेता रावलले चासो व्यक्त गरेका हुन् । उनले यसबारे स्पस्ट पार्नसमेत भनेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् ।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’
काठमाडौँ महानगरपालिकाले भने नगर प्रमुख बालेन्द्र साह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट भएको जनाएको छ । महानगरले सामाजिक सञ्जालमार्पत भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएको समेत जनाएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको को दफा ४ मा शिष्टाचार भेट, औपचारिक वार्ता तथा बैठकमा राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्ने उल्लेख छ ।
