काठमाडाैँ । मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । बिहान साढे ७ बजेसम्मकाे नतिजाअनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ।
जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ८१ हजार ३४८ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४७ हजार ९२४ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।
राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।
