Indrenionline.com

सूर्य थापा: पहिलो प्रयासमै संसद

दाङ  । नेकपा एमालेका उदीयमान नेता सूर्य थापा प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनी पहिलो प्रयासमै संघीय सांसद बन्न सफल भएका छन् । थापाले सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरेका हुन् । जनमोर्चाको विरासत तोडेर निर्वाचन जितेसँगै उनको चर्चा बढेको छ ।

उनी पत्रकारिताबाट राजनीतिमा आएका हुन् । थापा एमाले पोलिटब्युरो सदस्य र प्युठान इन्चार्ज हुन् । रुखो बोली र छुद्र व्यवहारको कारण आलोचना खेप्दै आएका थापा मंसिर ४ गते भएको आमनिर्वाचनबाट जनअनुमोदित भएका छन् ।

पार्टी महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण दुर्गा पौडेललाई मात्र अवसर दिइएको भन्दै जनमोर्चाभित्रको असन्तुिष्टको कडी समातेर थापाले आमचुनावमा जीत निकालेका छन् । उनले गठबन्धनका कारण असन्तुष्ट नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताहरुको मत आफ्नो पोल्टामा पार्नसके ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन धेरै अघि रहे पनि यो पटक मत ट्रान्सफर हुन सकेन । स्थानीय तहको नजिताअनुसार एमालेको ३९ हजार ८७७ मत रहेको थियो । कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२, नेकपा एकीकृत समाजवादीको १ हजार ३२२ मत थियो । यो आधारमा एमाले करिब १४ हजारले पछाडि थियो । तर, आमनिर्वाचनमा थापा ५ हजार २ सय मतान्तरले जीत निकाल्न सफल भए ।