Indrenionline.com

भीम रावल भन्छन् : मैले एमाले छोड्नुपर्छ भने ओलीले पनि छोड्नुपर्छ

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले यसपटकको निर्वाचनमा नराम्रो हार व्यहोरेको छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ १६ मध्ये ११ क्षेत्रमा जीत हासिल गरेको एमाले यसपालि प्रतिनिधिसभातर्फ दुई सीटमा सीमित भयो ।

प्रदेशसभामा पनि एमालेको हालत उस्तै छ । बाजुराको गणना बाँकी हुँदा प्रदेशसभामा एमालेका तीन उम्मेदवारले मात्रै चुनाव जितेका छन् । अघिल्लो चुनावमा एमालेले प्रदेशसभातर्फ ३२ मध्ये १७ क्षेत्रमा जीत हासिल गरेको थियो ।

सुदूरपश्चिममा एमालेको खराब नतिजाका पछाडि अनेक विश्लेषण भइरहेका छन् । धेरैले चाहिं सुदूरपश्चिमका प्रमुख हस्ती डा. भीम रावलको पार्टीमा निष्क्रियतालाई मुख्य कारण मान्छन् । एमालेले पूर्वाग्रह राखेर उनलाई टिकट नदिएकाले नै पार्टीले चुनावमा धक्का खाएको उनीहरुको विश्लेषण छ ।

वडा तहदेखि प्रदेश कमिटीबाट समेत एकल सिफारिसमा परे पनि एमाले नेतृत्वले रावललाई टिकटबाट बञ्चित गरेको थियो । यसले एमाले अछामका कार्यकर्ता आक्रोशित थिए । धेरैजसोले त आफू रहेको जिम्मेवारीबाट राजीनामा पनि दिए । परिस्थिति सामान्य नभएर झन् चर्किंदै गयो । कञ्चनपुरको चुनावीसभामा रावलको खोजी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति कडा टिप्पणी गर्नुले माहोल झनै बिग्रिएको थियो ।

सुदूरपश्चिममात्र नभएर प्रतिनिधिसभातर्फ कर्णालीमा पनि एमाले शून्य भएको छ । ।