एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् । उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने भन्दै दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
निर्वाचनअघि १० दिने सूचना जारी गर्दै समितिले दिइएको समयावधिभित्र घरटहरा नहटाए आफैंले खाली गर्ने सूचना जारी गरेको थियो । तर, निर्वाचनअघि मतदाता रुष्ट हुने भन्दै सो कार्य थाती राखिएको थियो ।
सोमबार दिउँसो सुकुम्बासीको घरटहरा गर्न गएकामाथि सुकुम्बासीले आक्रमण गरेका छन् । कुनै विकल्प नदिई घरटहरा हटाउन लागेको भन्दै सुकुम्बासीहरूले करिडोर र प्रसुतिगृह छेउमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । उनीहरूले घरटहरा खाली गर्न आउने सुरक्षाकर्मीमाथि घरेलु हतियारले आक्रमण गरेका छन् । जसबाट काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
