दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रकी नेता रेखा शर्माले चुनाव जितेपछि नेताहरु गाउँ फर्किदैनन् भन्ने गुनासो आउन नदिने बताएकी छिन्।
शुक्रबार घोराहीमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा समर्पित हुने र गाउँमा पटक पटक आएर मतदाताको गुनासो सुन्ने बताएकी हुन्।‘यहाँका तपाईं मतदाताबाट पाएको मायालाई भुल्ने छैनौँ। नेताहरु पाँच वर्षमा एक पटक मात्र गाउँमा आउँछन् भन्ने गुनासो छ। म त्यस्तो गुनासो आउन दिने छैन,’ उनले भनिन्, ‘संसद बैठक चलेको बेला बाहेक अरु समय म तपाईंहरुसँगै हुनेछु। कति दिन जिल्लामा बस्ने, कति दिन गाउँमा जाने, कति दिन केन्द्रमा बस्ने सबै योजना बनाएर काम गर्ने गर्नेछु।’
चुनाव प्रचार प्रसारका क्रममा जनतासँग गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफूले कुनै कसर बाँकी नराख्ने भन्दै उनले दाङबासीको शीर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।‘हामीले हिजो चुनाव प्रचारका क्रममा जुन वाचा गरेका थियौँ, ती वाचा पूरा गर्ने छौँ,’ शर्माले भनिन्, ‘हरेक नागरिकको मन मनमा विकासप्रेमी जनप्रतिनिधिका रुपमा रहने छौँ।’
शर्माले ¥यालीपछि घोराही बजारस्थित सहिद लखन पार्कमा राखिएको नेपालका प्रथम सहिद लखन थापामगरको शालिकमा अबिर तथा माला अर्पण गरेकी थिइन्।त्यस्तै, घोराही ६ सौडियारस्थित जनयुद्धका सहिदहरुको स्मारक स्थलमा पुगेर सहिदका शालिकमा अबिर तथा माल्यार्पण गरेकी थिइन्।
सभालाई सम्बोधन गर्दै दाङ २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित कांग्रेस नेता राजु खनालले विकास निर्माणका सवालमा आफू सदैव नागरिकसँगै रहने बताए।‘विकास निर्माणका सवाल मुख्य रुपमा आएका छन्,’ उनले भने यी सवालको समाधानको प्रत्याभूत हुने गरी काम गर्नेछौँ।’
यसैगरि दाङ २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रचण्ड विक्रम न्यौपानेले आफ्नो जीत समग्र मतदाताको जीत भन्दै निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्नबाट नचुक्ने बताए।
‘हामीलाई असक्षम प्रतिनिधि भन्ने ठाउँ दिने छैनौँ,’ उनले भने ‘हिजो चुनावका क्रममा जुन वाचा प्रतिवद्धता गरेका छौँ, ती वाचा पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनौँ।’
दाङ ३ मा निकालियो विजय जुलुस
दाङ क्षेत्र नम्बर ३ मा पनि गठबन्धनले विजय जुलुस निकालेको छ। यो क्षेत्रमा पनि प्रतिनिधि सभा तथा प्रदेश सभामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।तुलसीपुरमा गठबन्धन आवद्ध दलका नेता तथा कार्यकर्ताहरुले विजय ¥याली तथा कोणसभा गरेका थिए।
सभालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित दिपक गिरी, प्रदेश सभा सदस्यमा निर्वाचित डिल्लीबहादुर चौधरी र धनबहादुर मास्कीले सम्बोधन गरेका थिए।
हल्कारान्यूज
