बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीय बिच झडप हुँदा एक जनाको मृत्यु भएको बताइएको छ । एकजना कुँवर थरका प्रहरीसमेत घाइते भएको तस्बिर सामाजिक सञ्जालमा मार्फत सार्वजनिक भएको छ ।
केटिएम दैनिकले यसरबारे जानकारी लिनको लागि जिप्रका बाजुराका प्रवक्तालाई टेलिफोन सम्पर्क गर्दा उनले अहिले थप जनशक्ति चाहिएको हुनाले फोनमा बोल्न नसक्ने जनाए । त्यसपछी हामीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला रावललाई सम्पर्क गर्दा उनले एकजनालाई गोली लागेको तर मृत हो वा होइन एकिन नभएको बताए ।
प्रवक्ता रावलले जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको समेत बताए । ‘सुरक्षाकर्मीहरू विद्यालयभित्र छन् भने बाहिरबाट ढुंगामुंडा भइरहेको छ ।’ उनले केटिएम दैनिकसँग भने ।
मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार घाइतेहरूको पहिचान हुन सकेको छैन । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।
