Indrenionline.com

महिलाले चलाएका मतदान केन्द्र

घोराही–१८ को अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी मतदानस्थलमा खाटिएका कर्मचारीहरु । तस्विरः कुलदीप न्यौपाने

घोराही । घोराही–१८ का लुमप्रसाद पाण्डेको घर अम्बिकेश्वरी आधारभूत विद्यालयको छेवैमा छ । यो विद्यालय निर्वाचनका बेलामा मतदानस्थलको रुपमा प्रयोग हुँदै आएको छ । यसपटक यो मतदानस्थल महिलामैत्री हुने कुरा सुन्दा उहाँलाई के–के नै होला भन्ने लागेको थियो तर त्यस्तो खास फरक केही पाउनुभएन । यद्यपि उहाँले अन्य निर्वाचनको बेलाभन्दा अहिले मतदान स्थल अलि शान्त भएको महसुस गर्नुभयो । उहाँ भन्नुहुन्छ– ‘पहिलाका निर्वाचनमा पुरुषहरु पनि खटिएका हुन्थे, चहलपहल अलि बढी हुन्थ्यो । अहिले यो मतदान स्थल महिलामैत्री भएको रहेछ । सबै तयारी भइसकेको छ तर काम भएको हाम्ले थाहै पाएनौं । निकै शान्त छ ।’

घोराही–१८ अम्बापुरस्थित अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी मतदानस्थलमा दुईवटा मतदान केन्द्र छन् । यहाँका केन्द्रलाई नमूना मतदान केन्द्रअन्तर्गत पूर्ण महिलामैत्री मतदान केन्द्र बनाइएको छ । जहाँ ३४ जना महिला कर्मचारी खटिएका छन् । मतदान केन्द्र ‘क’ को निर्वाचन अधिकृतका रुपमा जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता इन्दु बसेल हुनुहुन्छ भने ‘ख’ को निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत दाङका शाखा अधिकृत उर्मिला तिमिल्सिना खटिनुभएको छ । यसअघिका निर्वाचनमा खटिदा महिला पुरुष भए पनि हालको पूर्णरुपमा महिलाहरु मात्रै हुँदा उहाँहरुले खासै फरक अनुभूति नभएको बताउनुहुन्छ ।

यद्यपि महिला कर्मचारीले मात्रै जिम्मेवारी पूरा गर्ने अवसर पाएकोमा उहाँहरु खुशी व्यक्त गर्नुहुन्छ । निर्वाचन अधिकृत बसले भन्नुहुन्छ– ‘यसअघिका निर्वाचनमा निर्वाचन केन्द्र बनाउँदा खाल्टा खन्ने, खाँबा गाड्नेलगायतका काम पुरुषहरुले नै गर्नुहुन्थ्यो । यसपालि हामीले ग¥यौं । स्थानीयहरुबाट पनि सहयोग भएको छ । महिला मतदान केन्द्र भनेर सबैतिर अलि बढी चासो हुँदो रहेछन् । विभिन्न निकायहरुबाट पनि अनुगमन तथा निरीक्षणका लागि महिला पुरुष भएका मतदान केन्द्रभन्दा बढी आएको पाएँ । सबै तयारी गरिसकेका छौं । जुन विश्वासका साथ हामीलाई महिलामैत्री मतदान केन्द्रको जिम्मेवारी दिइएको छ, सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न लागिपरेका छौं र गर्छांै पनि ।’

सोही मतदानस्थलमा नौजना म्यादी प्रहरीसहित १४ जनाको टीम सुरक्षार्थ खटिएको छ । मतदानस्थलको सुरक्षा गर्ने जिम्मेवारीको नेतृत्वमा सहायक प्रहरी निरीक्षक रुपाकुमारी बिक हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनका बेला मतदानस्थलको सुरक्षाको नेतृत्व गर्दा पनि रुपाको टीममा सबै महिला नै थिए ।

‘कमाण्डर भएर खटिएपछि टिममा महिला छन् या पुरुष भन्ने कुराले खासै अर्थ राख्दैन । त्यसमाथि पनि मैले महिला सुरक्षाकर्मीको टिम परिचालन गरेर यसअघिको निर्वाचनमा काम गरिसकेको हुँदा खास नयाँ अनुभूति छैन । सुरक्षाकर्मीको सवालमा महिला वा पुरुष भन्ने कुराले महत्व राख्दैन । मतदाता संख्या पनि धेरै नभएकोले केही अप्ठ्यारो छैन ।’ आधारभूत विद्यालय बेलघारी बुथमा १९ सय २५ जना मतदाता छन् । जसअन्तर्गत केन्द्र ‘क’ मा नौ सय ५२ र ‘ख’ मा नौ सय ७३ जना मतदाता नामावली छ ।

त्यस्तै घोराही–१७ स्थित सिद्ध रत्ननाथ मावि चौघेरा बुथमा तीनवटा मतदान केन्द्र छन् । जसअन्तर्गत ‘ख’ र ‘ग’ मतदान केन्द्रमा महिला तथा पुरुष खटिएका छन् भने मतदान केन्द्र ‘क’ लाई महिलामैत्री मतदान केन्द्रको रुपमा राखिएको छ । जसको मतदान अधिकृत घोराही उपमहानगरपालिका महिला विकास अधिकृत मोतीकुमारी  विश्वकर्मा हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा महिलामैत्री बुथमा पनि मतदान अधिकृत भई नेतृत्व गरिसकेको हुँदा फरक अनुभूति नभएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘काम गर्ने उही हो महिला र पुरुषले के फरक पर्छ र ? बाहिरबाट सुन्दा ओहो महिलामैत्री भनेपछि के के नै होला भन्ने लाग्छ तर केही फरक हुुँदैन । अन्य मतदान केन्द्रजस्तै हो । फरक त्यहाँ महिला, पुरुष हुन्छन्, यहाँ महिला मात्रै ।’ जम्मा २५ सय ११ मतदाता संख्या रहेकोमा महिलामैत्री मतदान केन्द्र ‘क’ बाट ८१२ जनाले मतदान गर्नेछन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दाङका जम्मा चारवटा केन्द्रलाई महिलामैत्री निर्वाचन केन्द्र बनाइएको छ । जसमध्ये क्षेत्र नं. २ मा घोराही–१८ को अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीको दुबै मतदान केन्द्र, घोराही–१७ को श्री सिद्धरत्ननाथ माविमा रहेका ‘क’ मतदान केन्द्र रहेका छन् । त्यस्तै क्षेत्र नं. ३ मा मावि सेन्टरको मतदान केन्द्र ‘ङ’ पनि महिलामैत्री मतदान केन्द्र हो । जसको मतदान अधिकृत दाङ जिल्ला अदालतका अधिकृत मञ्जु शर्मा हुनुहुन्छ भने क्षेत्र नं. १ मा कुनै पनि केन्द्रलाई महिलामैत्री बनाइएको छैन ।