काठमाडौं। मतदानको समय नजिकिएसँगै सामाजिक सञ्जालमा ‘कांग्रेसको गोप्य सर्कुलर’ भन्दै विभिन्न समाचारका स्क्रिन सट भाइरल भएका छन्। नाम चलेका अनलाइन मिडियाको लागोसहित ‘प्रचण्डबाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ शीर्षक र समाचारको स्क्रिन सर्ट भाइरल छ। विशेषगरी, फेसबुक र ट्विटरमा भाइरल बनेको त्यस्ता पोष्ट शनिबार बिहानदेखि धमाधम सेयर भइरहेका छन्।
‘माओवादीले पाएका क्षेत्रमा अन्य अनुकूल उम्मेदवारलाई जिताउन कांग्रेस सर्कुलर’, प्रचण्डबाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’, ‘देउवालाई प्रचण्डको फोन माओवादीलाई सहयोग नगर्ने कांग्रेसको सर्कुलरप्रति माओवादी सशङ्कित’, माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक प्रचण्ड’ रूख चिन्हमा मतदान गर्न ओलीको आग्रह’, ‘चितवनमा रबी लामिछानेलाई जिताउन र गठबन्धनलाई हराउन एमालेको आन्तरिक सर्कुलर’ जस्ता समाचारका शीर्षकसहितका स्क्रिन सट भाइरल छन्।
यो स्कृनसर्ट तपाईंको फेसबुक, ट्विटर फिडमा पनि आइपुगेको हुनसक्छ। झट्ट हेर्दा साँच्चै अनलाइन समाचार पोर्टलमै प्रकाशन भएको जस्तो देखिने स्क्रिन सटलाई धेरैले पत्याएका छन्। विशेषगरी, दलका कार्यकर्ताले सम्बन्धित स्क्रिन सट पोस्ट ेययर गरिरहेका छन्।
अनलाइनमै छापिएको भनेर नझुक्किनुस्
यसो हेर्दा सामान्य मानिसहरू समाचार शीर्षकभन्दा माथि, नयाँ पत्रिका, अनलाइखबर, रातोपाटी, उज्यालो अनलाइन’लगायतका चलेका साइटका समाचार भनेर झुक्किन सक्छन्। अझ शीर्षकभन्दा मुनि समाचारमा पनि समाचारकै शैली र भाषामा लेखिएको छ। जसले गर्दा यी स्क्रिन सट सत्यजस्तो लाग्न सक्छ।
तर,सत्य होइन। डोमेन नेम, मास्टहेड अनलाइन न्युजपोर्टलको देखिँदैमा त्यही अनलाइनमा समाचार छापिएका हुँदैनन्। अनलाइनमा जस्तो शैलीको ग्राफिक्स, डिजाइन देखिँदैमा अनलाइनमै प्रकाशन भएको समाचार हुँदैन।
यसकारण सत्य हुन सक्दैनन् ती समाचार ?
पहिलो कुरा नाम चलेका कुनै पनि अनलाइनले यस्ता अपुष्ट समाचार राख्दैन। दोस्रो कुरो, कांग्रेसको गोप्य आन्तरिक सर्कुलर सार्वजनिक नगरिएको भित्रभित्रै गोप्य रूपमा कार्यकर्तालाई मात्रै भनिएको भए पनि समाचार ती अनलाइनमा प्रकाशन भएका देखिँदैनन्। स्क्रिन सटमा उल्लेख भएको शीर्षक र समाचारमा उल्लेख भएका शब्दहरू सर्च गर्दा ती अनलाइन साइटमा भेटिँदैनन्। कुनै समाचार अनलाइनमा प्रकाशित भएपछि त्यसको शीर्षक वा समाचारमा लेखिएको कुनै शब्द गुगल, याहु, यान्डेक्स, वा अन्य कुनै सर्च इन्जिनमा गएर सर्च गर्दा सजिलै भेटिन्छ। तर यो समाचारमा भने केही भेटिँदैन।
अर्काे कुरा ती सबै स्क्रिन सटमा आजकै मितिमा (३ मंसीर)मा समाचार छापिएको भनेर डेटलाइन छ। ती सम्बन्धित सबै अनलाइन पोर्टलमा गएर हेर्दा आजको मितिमा ती समाचार प्रकाशित भएको देखिन्न।
नयाँ पत्रिकाको समाचार भन्दै कमलराज भट्टको बाइलाइनमा सहित स्कृनसर्ट आएको छ। उनै पत्रकारले फेसबुकमा आफूले सो समाचार नलेखेको र कसैले स्कृनसर्ट गरेर एडिट गरेको भनेर फेसबुकमा लेखिसकेका छन्।
अनलाइन खबरका पत्रकार लिलु डुम्रेले पनि सो समाचार आफू कार्यरत अनलाइनमा समाचार नछापिएको बताएका छन्। दुवै पत्रकारले स्क्रिन सट साँच्चै समाचारको नभई बनाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेर प्रस्टीकरण दिएका छन्।
स्कृनसर्ट हेर्दा पनि एडिट गरेको जस्तै लाग्छन्। उदाहरणको लागि रातोपाटीको मास्टहेडसहितको स्कृनसर्टमा अपराध सेगमेन्टमा समाचार पोस्ट भएको देखिएको छ। एटिड गर्नेले बुझेनछ की त्यो समाचार राजनीति सेगमेन्टमा पोस्ट हुने गर्छ भन्ने कुरा।
त्यसैले, यो समाचारको आवरणमा आफ्नो फाइदाका लागि रचिएको जालो हो भनेर सजिलै बुझ्न सकिन्छ। भोलि मतदानमा दिन भएकाले मतदातालाई भ्रममा पारेर जनमत प्रभावित पर्न यस्तो गरिएको हुनसक्ने विज्ञहरूको आंकलन छ।
कांग्रेस प्रवक्ताको प्रष्टीकरण – विपक्षीले भ्रम फैलाए
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि यस्तो कुनै सर्कुलर जारी नभएको बताएका छन्। ‘‘यो सबै भ्रामक कुरा हो। हामीले कहीँ कसैलाई यस्तो निर्देशन सर्कुलर गरेका छैनौँ। विपक्षी समूहले यस्ता भ्रम फैलाएका हुन सक्छन्। यसको घोर निन्दा गर्छौँ’’ उनले नेपालभ्युजसँग भने। उनले यसबारेमा केही बेरपछि पार्टीले आधिकारिक धारणासहितको विज्ञप्ति जारी गर्ने बताए।
यी सबै विश्लेषण गर्दा अर्को दलप्रति मतदान गर्ने मनस्थिति बनाएका मतदातालाई भड्काउन फरक दलका कार्यकर्ताले एडिट गरिएको सकृनसट हुन् भनेर अनुमान लगाउन गाह्रो छैन।
अरू बेलाभन्दा चुनावका बेलामा यस्ता अफवाह बढी फैलन्छन्। आमनिर्वाचनअन्तर्गत यति बेला स्थिर समय (मौन अवधि) जारी छ। भोलि (आइतबार) मतदान हुनुभन्दा केही घण्टाअगाडि दुष्प्रचार गरिएको देखिन्छ। from Nepal Views
