युएईसँगको तीन एकदिवसीय क्रिकेट शृंखला नेपालले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा युएईलाई ४ विकेटले हराउँदै नेपालले शृंखला जितेको हो ।
युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४ विकेको क्षतिमा ४०.१ ओभरमा पूरा गर्यो । नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याटर आशिफ शेख र मध्यक्रमका ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आफिस ८८ रन बनाएर अविजित रहे । ज्ञानेन्द्रले तीन छक्का र सात चौकाको सहयोगमा ७३ बलमा ६४ रन बनाए ।
अर्का प्रारम्भिक ब्याटर अर्जुन साउथले ९, कप्तान रोहित पौडेलले १० रन बनाए भने दीपेन्द्रसिंह ऐरी सून्य रनमा रनआउट भए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । युएईलाई सामान्य लक्ष्यमा रोक्न नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । युएईले एक समय ९३ रनमै ९ विकेट गुमाइसकेको थियो । एक समय ९२ मा पाँच विकेटको अवस्थामा रहेको युएईले एक रन बनाउँदा थप चार विकेट गुमाएको थियो । तर, त्यसपछि अन्तिम विकेटमा युएईले ८३ रनको साझेदारी ग¥यो ।
आयन अफ्जल खान ५४ रनमा नट आउट भए भने हजरत विलावलले २० रन बनाएर अन्तिमसम्म साथ दिए । ३१ ओभरभित्रै नौ विकेट गुमाएको युएई बाँकी १९ ओभरमा कुनै विकेट गुमाएन ।
खेलमा नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीको नाममा एक–एक विकेट रह्यो । युएईका लागि पाँच खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।पहिलोपटक कप्तानी सम्हालेका रोहित पहिलो नेतृत्वमै शृंखला जित्न सफल भए
