काठमाडौँ । काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंह घरदैलो कार्यक्रममा व्यस्त छन् । मैतीदेवी आसपासमा घरदैलोमा मंगलबार उनी व्यस्त भेटिए । घरदैलो कार्यक्रममा मकालुखबरसँग कुरा गर्दै सिंहले यो पटक पनि प्रतिनिधि सभाको चुनाव आफूले अत्यधिक बहुमतले जित्ने दाबी गरे ।
लोकतन्त्रका लागि गरेकाे संघर्ष र संविधान निर्माणमा आफूले खेलेको भूमिका अपरिहार्य रहेकाले आफू सुरक्षित रहेको उनी ठान्छन् । जनताले आफूलाइ प्रधानमन्त्री बनाउन चाहेको उनले बताए।
भन्छन्, ‘मतदाता उत्साहित हुनुहुन्छ। जनताले जितेर प्रधानमन्त्री बन्नु पर्छ भन्नु हुन्छ । मेरो पछाडि को छ थाहा छैन । तर मलाई लाग्छ मेरो प्रतिस्पर्धी धेरै पछाडि हुनुहुन्छ । मलाई यहाँका जनता तिजाउन तयार हुनुहुन्छ । म अत्यधिक मतले जित्छु । यसमा कुनै दुईमत छैन ।’
यो पटकको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका उनी संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गर्छन् । उनले आफू गठबन्धनको बलियो उम्मेदवार भएकाले कसैले आफू विजय हुनबाट रोक्न नसक्ने तर्क गरे । उनले गठबन्धनलाई बलियो बनाए मात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने बताए ।
के भन्छन् मतदाता ?
घरदैलो कार्यक्रममा सिंहले एक वृद्ध आमासँग भोट मागे उनलाई ती आमाले अविर लगाइदिइन् र आफूहरूको माग पूरा गर्ने आग्रह गरिन् । उनले तीन पटकसम्म जिताएर पठाउँदा पनि आफ्नो माग पूरा नगरेकाेमा निराशा पनि व्यक्त गरिन् । त्यसपछि मकालुखबरले उनकाे माग के थियाे भनेर प्रश्न गरेकाे थियाे ।
जवाफमा ती आमाले पुरानो घर हेर्दै उनले भनिन्, ‘घर पनि राम्रो बनेको छैन । पूर्जा पनि आएन । उहाँले गर्दिन्छु मात्र भन्नु हुन्छ ।’
अर्की मतदाता भन्छ्नि्, ‘२०३५ सालदेखि यो स्थानमा बसिरहेका छौँ, हाम्रो लाजपूर्जा पनि छैन । बाटो पनि साँघुरो छ । यसले धेरै पटक उहाँसँग लालपुर्जा चाहियो भनेर कुरा पनि गरेका छौँ । यो पटक आउँला कि ….., प्रोसेस भइराखेको छ रे ।’
हामी उम्मेदवार सिंहकै टाेलीमा सहभागी भएर लगभग १५ घर डुल्याैँ । प्रत्येक घरका जनताको आआफ्नै पीडा रहेछन् । बाटो साँघुरो भएकाले सो क्षेत्रका स्थानीय बाटो बढाउन पाए हुने भन्ने मनसायमा छन् ।
