चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा सहभागी भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो ।
केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।तपाई चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होईन भन्ने आधार प्रमाण के छ?
तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?
तपाईं सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रुपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गर्नुभएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारवाही समेत हुनसक्ने भएकोले तपाईं उपर उक्त कारवाही किन हुनु नपर्ने हो ?
