Indrenionline.com

अब प्रचण्ड र शेरबहादुरबीच पर्नेवाला छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसँग प्रधानमन्त्रीको उम्मेदवार नै नभएको बताएका छन् ।
निर्वाचन अघि नै प्रधानमन्त्री तोक्न उनले गठबन्धनलाई चेतावनी दिए । चुनाव जितेपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा झैझगडा पर्ने उनले बताए । ‘शेरबहादुर देउवा र प्रचण्डबिच पर्ने वाला छ ।
शेरबहादुर देउवाले म प्रधानमन्त्री बन्छु भने प्रचण्ड झसङ्ग भएका छन् । जनता गठबन्धनको प्रधानमन्त्री सुन्न चाहन्छन् । को हो तपाईँहरूको प्रधानमन्त्री ?,’ उनले भने, ‘यो गठबन्धन झैझगडा बाहेक केही गर्न सक्दैन ।’
पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले गठबन्धनसँग स्पष्ट भिजन र घोषणा नभएको भन्दै विकास गर्नका लागि गठबन्धन नबनेको तर्क गरे ।
‘माओवादीले एउटा घोषणापत्र जारी गरेको छ, कांग्रेसले अर्को गरेको छ । माकुनेले, चित्रबहादुरले, लोसपाले अर्को बनाएको छ,’ उनले भने, ‘कुन घोषणापत्र लागू गर्ने हो ? धान पनि मिसाउने, चामल पनि मिसाउने अनि पकाउने ?’
उनले गठबन्धनले विध्वंस मच्चाएर दक्षिणपन्थीको सरकार बनाउने काम गरेको बताए । ‘जनताको अभिमत रक्षा गर्नका लागि यो निर्वाचन महत्त्वपूर्ण छ । यसबाट हामीले बहुमत ल्याउनै पर्छ । ५ तिर फर्किएका, सिद्धान्त नभएका, गन्तव्य नभएका दलहरूको गठबन्धन हो,’ उनले भने ।
ओलीले गठबन्धनका सबै पार्टीहरूले घोषणापत्र जारी गरेर सरकार बनेपछि कसको कार्यान्वयन गर्ने भनी प्रश्न गरेका थिए ।
‘संयुक्त घोषणापत्र जारी गर्यौँ । चुनावपछि पार्टी एकीकरण भयो । हाम्रो घोषणापत्रमा जारी गरेका प्रतिज्ञा लागू गर्ने भनेका थियौँ, प्रचण्डले त्यसलाई च्यातेपछि, लत्याएपछि ताजा जनादेशमा जानुपरेको थियो,’
उनले भने, ‘प्रधानमन्त्री जीले संविधान बचायौँ भन्नुभएको छ, कसले मारेको छ संविधान ? संविधान उहाँहरूले मार्नुभएको थियो । सांसदबाट हुनुपर्ने काम सेटिङबाट उहाँहरूले मार्नुभयो । अब हामीले संविधान कुल्चिन नसक्ने गरी नतिजा ल्याउनुपर्ने छ ।’