काठमाडौं, २१ कार्तिक । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि कारबाही प्रक्रिया अगाडि बढाउने जिम्मेवारी प्रहरीलाई दिएको छ ।
अध्यक्ष नेपालले आफूले मतदातालाई कुनै किसिमको प्रभाव पार्ने कार्य नगरेको, फ्री भिसा फ्री टिकटको प्रलोभनको अभिव्यक्ति नदिएको दाबीसहित जवाफ पेस गरेका थिए । उनले रौतहट १ मा आयोजित कार्यक्रममा स्थानीय भाषामा ‘फ्रीका मतलब विनाढेउवा के । विनाढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौंमे तालिम मिल्ते हेँ’ भनी अभिव्यक्ति दिएको भिडियो आएपछि स्पष्टीकरणका साथै निर्वाचन कसुर ऐनमा आवश्यक कारबाही अगाडि बढाउन प्रहरीलाई भनेको थियो ।
स्पष्टीकरणमा जवाफ चित्त नबुझेमा र आचारसंहिता उल्लंघन गरेको प्रमाण भेटिएमा आयोगले निर्वाचन आयोग ऐनअनुसार एक लाखसम्म जरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही गर्न सक्छ । तर, आयोगले अर्को कानुन निर्वाचन कसुर ऐन आकर्षित हुने भन्दै यो घटनामा आवश्यक छानबिन तथा कारबाहीको जिम्मेवारी प्रहरीलाई नै दिएको हो । यसका लागि रौतहट प्रहरीलाई पत्राचार भइसकेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए । नयाँ पत्रिकाबाट