बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियुक्त सन्दीप, पीडित भनिएकी बालिका र घटनासँग सम्बन्धित व्यक्तिका बयान समेटिएको अभियोगपत्र दर्ता गराएको हो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।
मंगलबारदेखि मुद्दाको थुनछेक बहस सुरु हुनेछ । ‘सन्दीपविरुद्धको अभियोग अदालतमा दर्ता भएको छ । मंगलबारबाट बयान लिने काम हुनेछ । त्यो सकिएलगत्तै थुनछेक बहस हुन्छ । अदालतको आदेश आउन बुधबार साँझसम्म लाग्ला कि ?’ सन्दीपको पक्षमा वकालतमा उत्रिएका वकिल सुवास पाठकले भने ।
अधिवक्ता पाठकका अनुसार सन्दीपविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाई १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ । जसअनुसार कसैले पनि मन्जुरी लिएर वा नलिएर १८ वर्षभन्दा कम उमेरको कुनै पनि बालिकासँग यौन सम्बन्ध राखे जबर्जस्ती करणी गरेको ठहरिनेछ । दफामा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’
सोही दफाको उपदफा ३ को ‘घ’ मा १६ वर्ष वा त्यसभन्दा माथि १८ वर्षभन्दा कम उमेरको महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । जाहेरीमा उल्लेख भएअनुसार बलात्कृत किशोरी १७ वर्षकी छिन् । त्यसो हुँदा कसुर प्रमाणित भए सन्दीपविरुद्ध १० वर्षदेखि १२ वर्षसम्मको कैद सजाय हुनेछ ।
प्रहरीले गत ४ कात्तिकमै उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । प्रहरीका अनुसार हिरासतमा रहेका सन्दीपसँग बयान लिने काम ४ कात्तिकमा सकेर त्यही दिन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका थिए । त्यसअघि उसले दुई दिनको म्याद थप गरेको थियो । घटनालाई लिएर प्रहरीले सन्दीपसँग विभिन्न १३ प्रश्न सोधेको थियो । सबै प्रश्नको जवाफ लिपिबद्ध गर्ने काम पूरा भइसकेको छ । यस क्रममा घटनासँग जोडिएका र बयानमा पोलिएका सबै व्यक्तिसँग प्रहरीले सोधपुछ गरिसकेको छ ।
प्रहरीले सन्दीपविरुद्ध २० असोजबाट गणना हुने गरी पहिलोपटक २४ असोजमा सात दिनको म्याद थप गरेको थियो । दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो । जसको अवधि मंगलबार सकिएको थियो । सर्वजनिक बिदा भएको हुँदा मंगलबार सन्दीपविरुद्ध म्याद थप हुन सकेन । प्रहरीले सन्दीपविरुद्ध २४ असोजबाटै बयान लिने काम सुरु गरेको थियो । यस क्रममा उनले प्रहरीसमक्ष ‘इन्कारी बयान’ दिएका थिए । तर, बलात्कृत भएकी भनिएकी बालिकासँग भेट भएको भने उनले स्वीकार गरेका छन् ।
