Indrenionline.com

दार्चुला घटना : गल्ती स्विकार्दै भारतीय निर्माण कम्पनीले गर्‍यो १६ लाख दिने सहमति

तावाघाट–लिपुलेक सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले बालक पवन महराको मृत्युमा गल्ती स्विकार्दै उनको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ ।

शनिबार भारतको धार्चुलास्थित एसडिएम कार्यालयमा पीडित परिवारसँग भएको छलफलमा कम्पनीका प्रतिनिधिले गल्ती स्वीकार गर्दै १० लाख भारतीय रुपैयाँ दिने सहमति बनेको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । कम्पनीले सुरुमा हिक्मत महरासँग उनका चार सन्तानको कक्षा १२ सम्मको पढाइ खर्च व्यहोर्ने र परिवारका एकजनालाई कम्पनीमा रोजगारी दिने प्रस्ताव गरेको थियो । तर, उनले नगदै क्षतिपूर्ति मागेपछि त्यसैअनुसार सहमति बनेको हो । शनिबार पीडित परिवार लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि धार्चुला गएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विनासूचना विस्फोट गराउने ज्यादतीका गतिविधि रोक्न टोलीले भारतीय पक्षसँग आग्रह गरे पनि गरेको छ ।

भारतले नेपाल र नेपालीमाथि सीमा क्षेत्रमा जानाजान गरेको ज्यादती यो पहिलो होइन । पटक–पटक मानवीय क्षति हुने घटना दोहोर्‍याएको छ । गत वर्ष तुइन फुस्काइदिँदा जयसिंह धामी मारिए । अहिले चट्टान फोड्न विस्फोट गराएर सीमावारि हिँड्दै गरेको अवोध बालक मारिए ।गत वर्ष हिक्मत महराकै घरगोठको छानामा भारतबाट आएको ढुंगा बज्रिँदा एउटा गाई मरेको थियो । ‘सीमामा हामीमाथि पटक–पटक भारतले यस्ता घटना दोहोर्‍याइरहेको छ । वारि हाम्रो घर छ । पारिपट्टि सडकबाट आएको ढुंगा सीधै घरमा आइपुग्दा भौतिक क्षति हुने गरेको छ,’ उनले भने । गत वर्षको घटनाबारे नेपाल प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाए पनि क्षतिपूर्तिका लागि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

अहिले निर्माण गरिरहेको सडक क्षेत्रमै गत भदौमा पहिरोमा परेर चारजना नेपाली घाइते भएका थिए । उनीहरू अहिलेसम्म पनि उपचारकै क्रममा छन् । व्याँस गाउँपालिका– २ का जयलाल वड, सुकवीर धामी, धीरनसिंह धामी र दिनेश धामी घाइते भएका हुन् । जयलालको भारत पिथौरागढमा उपचार भइरहेको छ भने धीरन धनगढीमा उपचार गराउँदै छन् । सुकवीर र दिनेशले स्थानीय स्वास्थ्य संस्थामै उपचार गराउँदै आएका छन् । उनीहरूले अहिलेसम्म निर्माण कम्पनीबाट कुनै क्षतिपूर्तिसमेत नपाएको व्याँस– २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । अहिले निर्माण गरिरहेको सडक क्षेत्रमै उनीहरू पहिरोमा परेका थिए ।

त्यस्तै, २५ जेठ ०७८ मा व्याँसकै दुम्लिङ र कल्जु क्षेत्रबाट पारि भारतले बाटो विस्तारका लागि विस्फोट गर्दा चट्टान खसेर नेपालतर्फको बाटो भत्किएको थियो । दुम्लिङबाट करिब दुई सय मिटर उत्तरतर्फको घोरेटो बाटो महाकालीले बगाएको थियो । बाटो बगाउँदा नेपालको भूमिबाटै व्याँस जाने बाटो अवरुद्ध भएको छ । भारतले सडकको ट्र्याक खोल्न गराएको विस्फोटमा नेपालतर्फ दुम्लिङका चारवटा घरमा पनि क्षति पुगेको थियो । पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घरपालुवा चौपाया पनि घाइते भएका थिए ।