दाङ । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्, रेखा शर्मा । पूर्व सांसद एवं मन्त्री समेत रहेकी माओवादीकी नेतृ शर्मा गठबन्धनबाट उम्मेदवार बनेर चुनावी मैदानमा छिन् ।२०४३ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी शर्मा २०७० र २०७४ सालमा समानुपातिक सांसद बनिन् र सामान्य प्रशासन मन्त्री समेत भइन् । शर्मा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार भएकी छिन् । सोही निर्वाचन क्षेत्रबाट एमालेका महासचिव शंकर पोखेरल पनि उम्मेदवार छन् । दुईबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
उनी भन्छिन्, ‘जनतामाझ ठूला सपना बाँड्दिनँ, अधुरा काम गरेर देखाउँछु ।पाँचदलीय गठबन्धनको साथ भएकाले जित आफ्नो पक्षमा हुने शर्माको तर्क छ उनी भन्छिन्,मनोनयन दर्ता गरेसँगै हामी चुनावी तयारीमा छौं । अहिलेको तयारी भनेको गठबन्धन दलका कार्यकर्ताहरू वडा तहसम्म परिचालन गर्ने, राजनीतिक भेटघाट, छलफल गर्ने जस्ता आन्तरिक कामहरू भइरहेका छन् ।
उनी भन्छिन्,घोषणापत्र आउन बाँकी नै छ, त्यसपछि मात्रै हामी हाम्रा एजेण्डाहरू के हुन् भनेर मतदातालाई बताउँछौं । तर अहिलेको मुख्य राजनीतिक विषय भनेको हामी गठबन्धनमा छौं । गठबन्धन के कारणले बन्यो, किन बन्यो ? भन्ने कुरा जनतालाई बुझाउँदै हिंडेका छौं
हामी छिट्टै घोषणापत्र लिएर मतादाताकहाँ पुग्नेछौं । त्यो बेला हाम्रा चुनावी एजेण्डाहरू आउने नै छन् । तर मूलतः हामीले गर्ने काम भनेको यहाँ भएका पूर्वाधारलाई व्यवस्थित र स्तरोन्नति गर्ने नै हो । हामी जनतालाई नयाँ सपना बाँड्ने भन्दा पनि अधुरा कामहरू पूरा गरेर देखाउँछौं ।उदाहरणका लागि हामीले निकै दुःखका साथ दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौं । तर, त्यहाँबाट दिनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवा दिन र राम्ररी मेडिकल कलेज सञ्चालन गर्न सकेनौं । त्यसलाई छिटोभन्दा छिटो व्यवस्थित गर्दै मेडिकल शिक्षा सुरु गर्नुपर्नेछ । त्यस्तै दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय, जुन पूर्वीय दर्शनको आफैंमा ठूलो विश्वविद्यालय हो
त्यस्तै तुलसीपुर–लमही सडकखण्डको स्तरोन्नति गर्नुपर्नेछ । अर्काे कुरा दाङ कृषिका लागि राम्रो ठाउँ मानिन्छ तर सिंचाइ व्यवस्था छैन । सिंचाइका लागि माडी डाइभर्सनको कुरा पटक–पटक उठ्दै आए पनि काम भएको छैन । त्यसलाई अगाडि बढाउने सोचेकी छु । दाङ आफैंमा सुन्दर शहर छ तर अव्यवस्थित छ । यसलाई व्यवस्थित शहर बनाउन खानेपानी, ढल, सडक सबै पूर्वाधारहरू तयार गर्नमा ध्यान केन्द्रित गर्नेछु ।
मुख्य कुरा नयाँ काम गर्छु भन्दा पनि भएका कामलाई हामी पहिला व्यवस्थित गर्छौं । नयाँ स्कुल, कलेज खोल्ने भन्दा पनि भएकालाई व्यवस्थित गर्दै शिक्षाको हब बनाउनुपर्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ । स्वास्थ्य र शिक्षामा मैले विशेष ध्यान दिनुपर्छ भन्ने सोचेकी छु । त्यस्तै महिलालाई आर्थिक रूपमा सक्षम र अधिकारसम्पन्न बनाउन विशेष योजनाहरू बनाउनेछु ।
