Indrenionline.com

कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्‍यो प्रहरीले

काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए।

यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुन: हिरासतमा लिएको छ ।

स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुर्‍याएको भन्दै उनीविरुद्ध चार वटा जाहेरी परेको थियो।उक्त मुद्दामा अनुसन्धान गरी सोमबार सरकारी वकिल कार्यालयमा अभियोग पत्र बुझाएको एसएसपी बोहराले बताए।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले पनि अपूर्वलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । भोलि सार्वजनिक विदा भएकाले उनलाई पर्सि बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।