Indrenionline.com

एक लाख १५ हजार म्यादी प्रहरीको आवेदन खुल्यो

काठमाडौं, २६ भदौ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि १ लाख १५ हजार जना म्यादीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको हुनुपर्ने सूचनामा उल्लेख छ । आवेदनपछि असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने सूचनामा उल्ल्ेख छ ।