Indrenionline.com

गठबन्धनमा भागबण्डा मिलेन

काठमाडौं, २४ भदौ। गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच बिहीबारको बैठक निर्णायक भनिएको थियो । तर, केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको छ ।

बिहीबार दिनभर सत्तारूढ गठबन्धनद्वारा गठित कार्यदल र शीर्षनेता सिट बाँडफाँट रस्साकस्सीमा जुटेका थिए । ११ सदस्यीय कार्यदलले शीर्ष तहमा अपुरो प्रतिवेदन बुझाएपछि समेत शीर्षतहबाट पनि सहमति प्रयास जारी थियो ।

स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलको बैठकमा सिट संख्या विषयमा सबैभन्दा बढी समस्या नेकपा एकीकृत समाजवादी र जसपालाई बुझाउन भएको छ ।

समाजवादी अध्यक्ष माधव नेपालले आफूहरूलाई थोरै सिट दिएर गठबन्धनका कांग्रेस र माओवादीले हेपेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । उनले गत मंगलबार एक कार्यक्रममासमेत सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए ।

यसैगरी, जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएका छन् । बिहीबार मात्रै पनि उनले कम सिट पाउने अवस्था भए गठबन्धनमा बस्नुको औचित्य नहुने भन्दै वीरगन्जमा आयोजित एक सार्वजनिक कार्यक्रममा नै असन्तुष्टि पोखेका थिए ।