Indrenionline.com

सिट बाँडफाँडको मोडालिटी खोज्ने सत्ता गठबन्धन दलहरु

काठमाडौं, २३ साउन । सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिसकेको छ । मंसिर ४ गते एकैपटक गर्ने गरी तोकिएको मितिसँगै अहिलेका सत्ता घटनक दलहरु यो गठबन्धनलाई कायम राखेर चुनावमा जाने तयारीमा छन् । उनीहरुले आगामी चुनावमा कसरी सिट बाँडफाँड गर्ने भनेर खाका तयार पार्दैछन् ।

प्रदेश र संघीय निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहित सुझाव दिन गठित सत्तारूढ पाँचदलीय कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ । बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यले बताएका छन् ।

पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने कार्यदलको तयारी छ । दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दै छ । कार्यदल सदस्य सिटौलाका अनुसार तालमेलको आधारबारे पहिलो बैठकमा छलफल हुनेछ ।