एजेन्सी, १९ साउन । कडा विरोध र चेतावनीका बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि आक्रोशित चीनले ताइवानको उत्तर–पूर्वी तटमा शक्तिशाली मिसाइल प्रक्षेपण गरेको छ ।
ताइवानको उत्तर–पूर्वी तटमा दुई शक्तिशाली मिसाइल प्रक्षेपण गरेको र अरू कैयौँ मिसाइल पनि चीनको सेनाले प्रहार गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बनाएका डोङफेङ नामक दर्जनौँ मिसाइल ताइवानको भूमि नजिकै लक्षित गरेर प्रहार भएका समाचार संस्था रोयटर्सले जनाएको छ । शक्तिशाली मिसाइल प्रक्षेपण गर्दै चीनले आगोसँग खेल्नेहरूको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएको छ ।
ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मिसाइल प्रक्षेपणको प्रतिक्रियाका लागि आफ्ना प्रणाली पनि सक्रिय बनाएको बताएको छ । यस्तै ब्यालेस्टिक मिसाइलको ट्र्याक गर्न सक्ने अमेरिकी विमान जापानबाट उडेर ताइवानतर्फ लागेको बीबीसीले जनाएको छ ।