Indrenionline.com

अधुरा ‘काम’ फत्ते गर्न शर्मा पुनः अर्थमन्त्रालयमा

काठमाडौँ, १६ साउन । वित्तीय विशृंखलता र पदीय अक्षमताले दुर्बल माओवादी नेता जनार्दन शर्मालाई अर्थ मन्त्रालय फर्काइएको छ ।

‘सेटिङ’ मा अघि बढाइएका अधुरा ‘काम’ फत्ते गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई नै मन्त्रालय ल्याएका हुन् । शर्माको एकवर्षे कार्यकालमै संकटोन्मुख बनेको अर्थतन्त्र उनको पुनरागमनसँगै थप जोखिममा परेको छ ।

यति छिटो मन्त्रालय फर्कनेमा शर्मा पनि विश्वस्त थिएनन् । संसदीय छानबिन समिति गठन भएसँगै २५ दिनअघि राजीनामा दिएर बिदा माग्न अर्थ मन्त्रालय पुगेका शर्माले निकट कर्मचारीहरूसँग भनेका थिए, ‘मैले सफाइ पाउँछु तर फर्केर आउने सम्भावना छैन, पार्टी महासचिव हुने हो, चुनावमा होमिने हो ।’

तर, छानबिन विशेष समितिको शैली देखेपछि उनलाई सुनियोजित सफाइ दिइँदै छ, विश्लेषण हुन थालेको थियो । बजेटको अघिल्लो राति अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका अनधिकृत व्यक्तिलाई बयानमा समेत नबोलाएपछि समितिको नियत प्रस्ट भइसकेको थियो । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नदिने नीति लियो भने समितिले त्यसलाई स्वाभाविक रूपमा लिँदै अनुसन्धानको दायरा फराकिलो बनाउन चाहेन ।

सत्ताको बलमा संसदीय छानबिन समितिलाई विफल बनाएर शर्मालाई ‘चोख्याउँदै’ मन्त्रालयमा फिर्ता गरिएको हो । आफ्ना स्वार्थ पूरा गर्न देउवा दाहालले शर्मालाई अर्थ मन्त्रालयमा फर्काएका हुन् भन्नेमा कांग्रेस र माओवादीका नेता स्पष्ट छन् । ‘तपार्इं फेरि पनि अर्थमन्त्री हुनुपर्छ भनेर शर्मालाई हाम्रै अध्यक्षले उक्साउनुभएको हो,’ माओवादीका एक नेता दाबी गर्छन् । ती नेताका अनुसार दाहालले शर्मामाथि लागेका आरोपको प्रतिवाद गर्ने आश्वासनसमेत दिएका छन् । कान्तिपुरबाट