Indrenionline.com

दाताले दिएको कोरोनाविरुद्धको दुई लाख डोज खोप म्याद सकिएर गयो खेर

काठमाडौं, १५ साउन । पछिल्ला दिन निरन्तर बढिरहेको कोरोना संक्रमणले चौथो लहरको जोखिम बढाएको छ । तर, सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन नसक्दा यही वेला साढे १७ करोड मूल्य पर्ने दुई लाख डोज खेर गएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार शनिबार दुई लाख डोज कोभिसिल्डको म्याद सकिएको हो । १७ करोड ६४ लाख मूल्यको खोप खेर गएको विभागले जनाएको छ । महाशाखा निर्देशक डा. रुद्र मरासिनीले खेर गएको खोपको मात्रा दुई लाखभन्दा बढी नै पनि हुन सक्ने बताए । ‘शनिबारदेखि म्याद सकिएर कम्तीमा दुई लाख मात्रा कोभिसिल्ड खेर गएको हाम्रो अनुमान छ । योभन्दा बढी नै पनि हुन सक्छ,’ उनले भने, ‘उक्त खोप केन्द्रीय भण्डारण स्टोरमा खेर गएको होइन, जिल्ला–जिल्लामा वितरण भएको खोप हो । विभागले देशभरबाट विवरण माग गरेको छ ।’

विभागमा एक लाख ६४ हजार एक सय ७० डोज खेर गएको तथ्यांक आइसकेको छ भने बाँकीको आधिकारिक तथ्यांक संकलन भइरहेको छ । तथ्यांकअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा १० हजार डोज र बागमती प्रदेशमा ८५ हजार एक सय २० डोज कोभिसिल्डको म्याद सकिएको छ । त्यस्तै, प्रदेश १ मा ११ हजार, हेटौँडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकु कोल्ड चेन स्टोरमा १९ हजार चार सय ८० र गण्डकी प्रदेशमा दुई हजार पाँच सय ७० डोज मौज्दात रहेकामा सबैको म्याद शनिबारदेखि सकिएको छ । स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाले खोप कति बाँकी छ र कतिको म्याद सकियो भनेर अन्तिम विवरण संकलनको काम भइरहेको बताए ।

म्याद सकिएर खेर गएको खोप विभिन्न समयमा दातृराष्ट्रबाट अनुदानमा आएको थियो नयाँ पत्रिकामा खबर छ। तर, स्वास्थ्य मन्त्रालयका अनुसार सम्बन्धित देशले खरिद गरेर अनुदानमा दिएकाले ती देशले हरेक वर्ष नेपाललाई गर्ने सहयोगमा उक्त रकम जोड्ने गर्छन् ।