काठमाडौं, १० साउन । उमेर मात्रै २३ वर्ष । तर, ठगीमा ‘मास्टरमाइन्ड’ । ठगीको यस्तो जालो, जहाँ सर्वसाधारण मात्रै होइन, सुरक्षा निकायमा वर्षौँ बिताएकासमेत सजिलै फसे । विश्वास आर्जन र पैसा असुल्न पत्रिकादेखि सोसल मिडियासम्म विज्ञापन र नक्कली विज्ञ खडा गरी ‘ओरियन्टेसन’सम्मका सबै हर्कत । यसैका बलमा वैदेशिक रोजगारीका नाममा डेढ सय युवाबाट करिब १३ करोड असुल ।
पीडितमध्येका सल्यान सिद्धकुमार गाउँपालिका– ४ का २५ वर्षीय ज्ञानकुमार चलाउनेका अनुसार उनले करिब एक सय ५० युवासँग पाँचदेखि १२ लाखको दरले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएका छन् । उनीबाट ठगिने नेपाल मात्र होइन र दुबईका होटेलमा समेत प्रशस्त भेटिने चलाउनेले बताए । ‘दुबईमा सेक्युरिटीगार्डमा आकर्षक तलबसहितको रोजगारी खुलेको भन्दै मलाई पटक–पटक भन्यो । विज्ञापन पनि गरेको रहेछ । मसँग यसले पटक–पटक गरी १२ लाख रुपैयाँभन्दा धेरै लियो । दुबई त पुर्यायो । तर, काम लगाएन,’ नयाँ पत्रिकासँगको सम्पर्कमा आएका चलाउनेले भने, ‘मजस्तै अलपत्र पर्ने डेढ सयभन्दा धेरै छन् । सबैबाट यसले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएको रहेछ ।’
नेपाली सेनाबाट राजीनामा दिएका चलाउने वर्ष दिनअघि ‘भिजिट भिसा’मा दुबई पुगेका थिए । त्यसअघि उनले सुरजलाई नौ लाख रुपैयाँ बुझाएका थिए । रोजगारका लागि दुबईमा अन्तर्वार्तासमेत दिएका उनले काम भने पाएनन् । काम पाउने आशामा नौ महिना १० दिन दुबई बसेर अन्ततः खाली हात नेपाल फर्कनुपरेको उनले गुनासो सुनाए । सामाखुसीमा भेटिएका चलाउनेले बताएअनुसार सुरुमा थापाले वर्किङ भिसामा लैजाने भनेका थिए र सोही आशामा रकम लिएका थिए । ‘तर, एयरपोर्टमा पुगेपछि भने ‘भिजिट भिसा’ हातमा थमायो । विदेश हिँडेका हामी घर फर्कन सकेनौँ । काम पाउने आशामा दुबई पुग्यौँ । त्यहाँ पुगेर पनि तीन लाख रुपैयाँभन्दा धेरै रकम बुझायौँ । तर, काम पाउन सकेनौँ ।’
गोरखा पालुङटार नगरपालिका– १ का ३९ वर्षीय विकुल कोइरालाका अनुसार सुरजले युवालाई सुरुमा वर्किङ भिसामै दुबई लैजाने प्रलोभन दिन्थे र राहदानी, नागरिकतालगायतका आवश्यक कागजात पेस गर्न लगाउँथे । केही सातापछि दुबईस्थित कम्पनीबाट आएको भन्दै नक्कली ‘वर्किङ भिसा’ सामाजिक सञ्जालमार्फत पठाउँथे । ‘प्रतिव्यक्ति नौ लाखका दरले रकम बुझाउन भन्थे । जब युवा दुबई उड्न विमानस्थल पुग्थे । त्यसपछि भने दुबईको ‘भिजिट भिसा’ युवाको हातमा थमाउँथे,’ पीडित कोइरालाले भने । नयाँ पत्रिकाबाट