Indrenionline.com

सीसीटीभी प्रकरण : छानबिन समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेजको अनुसन्धान गर्ने

काठमाडौं, ९ साउन । चालु आर्थिक वर्षको बजेट बनाउदा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेका पूर्व अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्ने भएको छ ।

आइतवार बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको छ। समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते दिउँसो १२ बजेदेखि १५ गते दिउँसो १२ बजेसम्मको फुटेज हेरेर अनुसन्धान गर्न लागेको हो ।

यसअघि अर्थ मन्त्रालयका दुई जना सचिव, कर्मचारी र सुरक्षाकर्मीसँग बयान लिए पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि हुन सकेको छैन ।व्यक्तिको गोपनीयताको हनन हुने भन्दै कल डिटेल हेर्न नहुने अडान राखेका छन् । यस विषयमा आजको बैठकमा पनि छलफल हुने भएको छ । यसअघि समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि बजेट निर्माणको दिनको फुटेज नपाएपछि रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ ।

शर्माको ‘कल डिटेल’ हेर्न सत्तापक्षको अवरोध
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न गराएको विषय छानबिनका क्रममा कल डिटेल हेर्ने कि नहेर्ने भन्नेमा संसदीय विशेष समितिमै विवाद भएको छ ।

समितिमा रहेका एमालेका सांसदहरूले वैज्ञानिक प्रमाणका रूपमा मोबाइलको कल डिटेललाई समेत आधार मान्नुपर्ने अडान राखेका छन् भने सत्तारूढ दलका सदस्यहरू व्यक्तिको गोपनीयताको हक हनन हुने भन्दै त्यतातिर जान नहुने तर्क गरिरहेका छन् ।

स्रोतका अनुसार अर्थ मन्त्रालयले उपलब्ध गराएको अपूरो सीसीटीभी फुटेज, मन्त्रालयका अधिकारीहरूका बयानले अनधिकृत व्यक्तिको प्रवेश पुष्टि नभएपछि समितिको आइतबारको बैठकमा एमाले सांसदहरूले कल डिटेल र लोकेसन ट्र्याकिङको प्रस्ताव गरेका थिए ।

त्यसमा सत्तारूढ दलका सांसदले आपत्ति जनाएका थिए । कल डिटेल हेर्नै नहुने अडानमा माओवादी सांसद बैठकमा चर्को रूपमा प्रस्तुत भएका थिए ।