Indrenionline.com

८४ करोडका हतियार किन्न तीन विदेशी कम्पनीसँग सम्झौता

काठमाडौँ, ३१ असार । प्रहरी प्रधान कार्यालयले ८४ करोड रुपैयाँबराबरका हतियार तथा गोलीगट्ठा किन्न तीन विदेशी कम्पनीसँग सम्झौता गरेको छ ।

सटगन र पिस्तोल इटालीको बेरेटा र फाबार्म कम्पनीका भए पनि नेपाल ल्याउन चीनको पोली टेक्नोलोजिज इन्कलाई प्रयोग गरिएको छ । यसका बिचौलिया दीपक भट्ट हुन्, जसले नेपालको सत्तापक्ष, प्रतिपक्ष, संसद्का राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई समेत आफैं व्यवस्थापन गर्ने दाबी गर्दै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले एक हजार थान पिस्तोल किन्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको हो । इटालीको बेरेटा डिफेन्स टेक्नोलोजिजमा उत्पादित पिस्तोल ल्याउन चिनियाँ कम्पनी पोली टेक्नोलोजिजसँग सम्झौता भएको छ । त्यस्तै पिस्तोलमा लाग्ने गोली भने चिनियाँ कम्पनीबाटै खरिद गर्ने सम्झौता छ । गोली खरिदका लागि हङकङको निहाल ट्रेडिङमार्फत काम भएको देखिन्छ ।

भट्टले २०७१ मै प्रहरीका लागि डेढ अर्बका हतियार खरिद गर्न जोडबल गरेका थिए । चीन र इटालीबाट हतियार किन्न उनले दबाब दिएका थिए तर प्रहरी प्रधान कार्यालयले तत्कालको प्राथमिकता हतियार नभई भौतिक संरचना निर्माण भएका कारण देखाएर बजेट फ्रिज गराएको थियो । करिब ८ वर्षपछि उनै भट्टले चीन र इटालीबाट ८४ करोडका हतियार खरिद गर्नका लागि एजेन्टका रूपमा ठेक्का हात पारेका छन् । भट्टले नै आगामी केही महिनापछि थप ५१ करोडका हातहतियार तथा सुरक्षा सामग्री किन्न लबिइङ गरिरहेका थिए । १ अर्ब ३५ करोडका सुरक्षा सामग्री किन्ने योजनाअन्तर्गत पहिलो लटमा ८४ करोडका सामान खरिद गर्ने सम्झौता भएको हो ।

प्रहरी प्रधान कार्यालयले असार मसान्तभित्र प्रतीतपत्र ९एलसी० खोल्ने गरी १ हजार थान ९–एमएम पिस्तोल, त्यसका १० लाख २० हजार राउन्ड गोली, १२ बोरका १ हजार १ सय ५० थान फोल्डिङ सटगन, त्यसमा लाग्ने २ लाख राउन्ड कार्टिज ९छर्रा०, १२ बोर सटगनमै लाग्ने ३ लाख राउन्ड रबरका गोली र २४ हजार राउन्ड अश्रुग्यास किन्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । यी हातहतियार तथा गोलीगट्ठाको मूल्य उत्पादक कम्पनीले राखेको अधिकतम खुद्रा मूल्यका आधारमा सामान्य रकम घटाएर सम्झौता भएको स्रोत बताउँछ । कान्तिपुरबाट