Indrenionline.com

आज उपसभामुख चयन हुँदै

काठमाडौं, ३१ असार । आज बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन हुने छन् । जसका लागि आज निर्वाचन हुँदैछ ।

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमको र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । ६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ । बैठक दिउँसो ३ बजे बस्दैछ ।

गठबन्धन स्पष्ट बहुमतमा
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद रहेका छन् । त्यसमध्ये पनि चारजना निलम्बनमा रहेकाले उनीहरूले मत राख्न पाउनेछैनन् । बराबर अंक भएको अवस्थामा बाहेक सभामुखले पनि मत दिनेछैनन् । यस्तोमा मताधिकार प्रयोग गर्ने संख्या दुई सय ६६ हुनेछ ।

सत्तारूढ दलतर्फ कांग्रेसका ६३, माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९ तथा राष्ट्रिय जनमोर्चाका एक गरी जम्मा एक सय ५५ जना सांसद छन् ।