काठमाडौँ, २९ असार । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु(याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु(याउन सबै लाग्नुपर्ने देखिन्छ ।”
कानुनअनुसार वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु भए पनि स्थानीय तहको निर्वाचन र गत वर्ष ढिलो शैक्षिक सत्र सुरु भएर पढाइ एक महिना लम्बिएका कारण यस पटक जेठ १ देखि मात्रै पढाइ सुरु भएको हो ।
यस पटक एक महिना ढिलो पढाइ सुरु हुँदा पनि पुस्तक पु¥याउन नसकेको भन्दै पुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आलोचना भइरहेको छ । यसबारे केन्द्रका प्रवक्ता चित्र आचार्यले पुस्तक छपाइ लगभग सकिएको जवाफ दिनुभयो । जबकि केन्द्रले केही दिनअघि मात्रै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा रहेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिलाई अझै १० लाख थान पुस्तक छपाइ बाँकी रहेको लिखित जानकारी गराएको थियो । गोरखापत्रबाट