काठमाडौं, २९ असार । केही समय पहिला नगन्ने अवस्थामा पुगेको कोरोना संक्रमण दर बढ्दै गएको छ । १ असारमा शून्य दशमलव ६४ प्रतिशत रहेको संक्रण दर बढेर पाँच प्रतिशतभन्दा माथि पुगेको छ । सोमबार ५ दशमलव ५६ प्रतिशत रहेको संक्रमणदर मंगलबार बढेर ५ दशमलव ६६ प्रतिशत पुग्यो ।
आइतबार भने तीन हजार ४५ नमुना परीक्षणमा एक सय २१ अर्थात् ३ दशमलव ९७ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । शनिबारयता दैनिक संक्रमितको संख्या सयभन्दा माथि छ ।
दैनिक संक्रमणदर बढेसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको छ । हाल अस्पतालमा उपचार गराइरहेका २० संक्रमितमध्ये ११ आइसियूमा र एक भेन्टिलेटरमा छन् । जीवाणुविज्ञ डा. सन्तोष दुलाल कोरोनाको अर्को लहरको जोखिम बढेको बताउँछन् ।