काठमाडौं, २६ असार । चरम आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकाको संकट थप चुलिएको छ । राजधानी कोलोम्बोस्थित राष्ट्रपतिनिवास र कार्यालय शनिबार प्रदर्शनकारीले कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सेनाले उद्धार गरेर गोप्य स्थानमा लगेको छ । सुरक्षाका कारण उनलाई राखिएको स्थान सार्जजनिक गरिएको छैन ।
खासगरी श्रीलंकामा आर्थिक संकट बढ्दै जान थालेपछि नागरिकमा विरोधको स्वर बढ्न थालेको थियो । जुन, राष्ट्रपतिनिवास र कार्यालय कब्जा गर्नेसम्म पुग्यो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा लाखौँ प्रदर्शनकारीले राष्ट्रपति गोटाबायाको निवास घेरेको, निवासभित्र घुसेको, स्विमिङ पुलमा पौडी खेलेको, राष्ट्रपतिको शयनकक्षमा आराम गरेको तथा खानेकुरा खाएको देखिन्छ । राष्ट्रपतिनिवासको बार्दलीबाट केही प्रदर्शनकारीले श्रीलंकाको झन्डा फहराएका थिए । मध्यरातिसम्म राष्ट्रपति कार्यालय र निवास प्रदर्शनकारीकै कब्जामा छ ।
लाखौँको संख्यामा रहेका प्रदर्शनकारी राष्ट्रपतिनिवासमा छिर्न खोज्दा सुरक्षाकर्मीले सुरुमा केही सेल अश्रुग्यास हानेर नियन्त्रण गर्ने प्रयास गरेको थियो । तर, भिड थप उत्तेजित हुन थालेपछि भने रोक्ने प्रयास नै गरेन । प्रदर्शनकारी राष्ट्रपतिनिवास प्रवेश गर्दा त्यहाँ कति सुरक्षाकर्मी थिए भन्ने खुलेको छैन । नेसनल हस्पिटल अफ श्रीलंकाका अनुसार साँझसम्ममा दुई प्रहरीसहित ५५ प्रदर्शनकारी घाइते भएर अस्पताल पुर्याइएका छन् । दुईको अवस्था भने गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । नयाँ पत्रिकाबाट