काठमाडौं, २२ असार । बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो ।
सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेको छानबिन समिति गठन गरिएको हो ।
समितिले करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा सत्य तथ्य खोजेर प्रतिवेदन बनाएर पेस गर्नेछ ।
गल्ती गरेको छैन : शर्मा
यसैबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन् । उनले देश र नागरिकको हितमा बजेट ल्याएकै कारण अनैतिक काम गरेको आरोप लागेको दाबी गरे । नेकपा एमालेले विगतमा गरेको आफ्ना कर्तुत लुकाउन वा ओझेलमा पार्न अहिले नचाहिने हल्ला चलाएको शर्माले आरोप लगाए ।
