काठमाडौं, १४ असार । मनसुनी वायु देशभर सक्रिय बनेसँगै धेरै ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दैै मंगलबारदेखि बिहीबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको आकलन गरेको छ ।
यस अवधिमा केही क्षेत्रमा भारी र अतिभारी वर्षासमेत हुन सक्ने भएकाले बाढीपहिरोको जोखिम रहेको छ । नेपालमा २२ जेठमा मनसुन भित्रिएकामा सोमबार सुदूरपश्चिम प्रदेशमा पनि फैलिएर देशभर सक्रिय बनेको छ ।
यही वेला मनसुनको न्यूनचापीय रेखा पनि मंगलबारदेखि बिहीबारसम्म तराई भूभागनजिक आइपुग्ने देखिएपछि विभागले झरी र भारी वर्षाको सम्भावना छ । अबका केही दिन मौसम प्रतिकूल हुन सक्ने प्रक्षेपण गरिएको छ ।
