दाङ, १० असार । दाङको बंगलाचुली गाउँपालिकाले चुनढुङ्गा बोक्ने टिपरका लागि वैकल्पिक सडक बनाउने भएको छ । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपरहरूकै कारण सडकको कालोपत्र तीन महिनामै उप्केर सडक धुलाम्मे हुने गरेको थियो । स्थानीयवासीको दबाबमा पालिकाले सात महिनादेखि सिमेन्ट उद्योगका टिपर सञ्चालनमा रोक लगाएको छ ।
चार वटा सडक मध्येबाट एउटा छनोट गरी सडक खन्न सुरु गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिकाका अध्यक्ष सुवास पुन बताउनुहुन्छ । सिमेन्ट उद्योगले स्थानीयवासी र पालिकासँग गरेका सहमति कार्यान्वयन र वैकल्पिक सडकको सुनिश्चितता हुनासाथ खानी सञ्चालन गर्न दिने गाउँपालिकाले जनाएको छ ।