काठमाडौं, २७ बैशाख । यही बैशाख ३० गते हुन लागेको पालिका चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो ।
दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ । मतदानस्थलको तीन सय मिटर वरपर दल तथा उम्मेदवारले प्रचार सामग्री राख्न पाउने छैनन् ।
सामाजिक सञ्जाल वा अरु माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री राख्न, पोष्ट गर्न, सेयर गर्न पाइने छैन ।
आयोगले यो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको निगरानी गर्ने र त्यस्ता गतिविधि भएमा तत्काल कारबाही गर्ने जनाएको छ । निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्मको कारबाही हुनसक्ने उल्लेख छ ।
सीमा पनि मध्यरातिदेखि बन्द
यसैगरी आज मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमानाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ ।