काठमाडौं, २४ बैशाख । सुदूरपश्चिममा कैलाली र बझाङका सबै तथा बैतडीका केही तहमा सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर चुनाव लड्दै छन् ।
यहाँका अन्य अधिकांश तहमा कांग्रेस–माओवादी, कांग्रेस–समाजवादी, माओवादी–समाजवादीबीच द्विपक्षीय गठबन्धन बनेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भने गठबन्धनका दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् । बरु कांग्रेसबाट विद्रोह गरेका नेताहरूसँग एमालेले तालमेल गरेको छ ।
डडेल्धुराका सातवटै पालिकामा एमाले र कांग्रेस ९बिपी० बीच वडा तहसम्मै चुनावी तालमेल भएको छ । कांग्रेसका निवर्तमान जिल्ला सभापति कर्ण मल्लसहितका असन्तुष्ट नेताहरू कांग्रेस बिपीमा लागेका छन् । उनीहरूले सदरमुकामको अमरगढी नगरपालिकासहित तीन तहमा प्रमुख र दुई तहमा उपप्रमुखमा उम्मेदवारी दिएका छन् । चार तहको प्रमुख र पाँच तहको उपप्रमुखमा कांग्रेस बिपीले एमालेलाई सहयोग गर्दै छ ।
हरेक संसदीय निर्वाचनमा प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा संगठनमा बलियो पकड राख्ने नेताहरू पार्टीबाट बाहिरिएपछि कांग्रेस कमजोर देखिएको छ । एक्लै चुनाव जित्ने आकलनसहित गठबन्धन नगरेको कांग्रेसलाई संगठक नेताहरूको बहिर्गमन र टिकट वितरणमा देखिएको असन्तुष्टिले डडेल्धुरामा विरासत जोगाउन हम्मे पर्ने देखिन्छ । विपक्षीसँग तालमेल गरेपछि कांग्रेसले मल्लसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । टिकट वितरणलाई लिएर पार्टीभित्रै पनि असन्तुष्टि छ । जसको असर निर्वाचन परिणाममा देखिने आकलन हुन थालेको छ ।
आन्तरिक किचलोले कमजोर
डडेल्धुरामा आन्तरिक किचलोले कमजोर बनेको कांग्रेसको दबदबा विगतको जस्तो नरहेको डडेल्धुरा बहुमुखी क्याम्पसका उपप्राध्यापक युवराज जोशी बताउँछन् । अघिल्ला निर्वाचनजस्तो कांग्रेसले यी ठाउँमा सजिलै जित्छ भन्ने आकलन गर्न सकिने अवस्था अहिले नरहेको उनको भनाइ छ ।
‘संगठित र क्रियाशील सदस्यहरू गएपछि डडेल्धुरामा हिजोको कांग्रेस अब रहेन,’ उनले भने, ‘गठबन्धन भएको छैन, नेताहरू बाहिरिएका छन् । यसको असर त स्वाभाविक रूपमा पर्ला नै ।’ स्थानीय चुनावमा उम्मेदवारको व्यक्तित्व, भूगोल आदिको बढ्दो प्रभावले निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्ने आकलन गर्न भने गाह्रो रहेको जोशी बताउँछन् । नयाँ पत्रिकाबाट
