Indrenionline.com

मावि शिक्षकको प्रारम्भिक परीक्षाफल : चार विषयको नतिजा शून्य

काठमाडौं, २२ बैशाख । शिक्षा सेवा आयोगले स्थायी शिक्षकका लागि सञ्चालन गरेको माध्यमिक तहको प्रारम्भिक परीक्षामा पाँच प्रदेशमा चार विषयका सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मधेसमा स्वास्थ्य शिक्षा, बागमतीमा व्याकरण, सुदूरपश्चिम र प्रदेश १ मा संस्कृत भाषा तथा लुम्बिनीमा संस्कृत साहित्यमा प्रारम्भिक परीक्षामै नतिजा शून्य आएको हो ।

आयोगले मधेसमा स्वास्थ्य शिक्षा र बागमतीमा व्याकरणमा एक–एकजना माग गरेको थियो । त्यस्तै, संस्कृत भाषाका लागि सुदूरपश्चिममा एक र प्रदेश १ मा दुई शिक्षक मागेको थियो । लुम्बिनीमा संस्कृत साहित्यमा पनि एकजना मात्रै मागेको थियो । आवेदन पनि थोरै परेका यी सबैमा प्रारम्भिक नतिजा शून्य रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । प्रारम्भिक परीक्षामै कोही उत्तीर्ण नभएपछि विषयगत परीक्षामा उम्मेदवारको संख्या शून्य हुने भएको छ ।

मधेस प्रदेशमा एक सय ११ शिक्षक माग भएकामा एक सय २० मात्रै उत्तीर्ण, विषयगत परीक्षा उत्तीर्ण सहज हुने निश्चित शिक्षक सेवा आयोगले देशभर एक हजार पाँच सय ५२ शिक्षकका लागि गरेको विज्ञापनमा ३५ हजार पाँच सय ५७ ले आवेदन दिएका थिए । ३२ हजार ९७ परीक्षामा सहभागी भएका थिए । तर, प्रारम्भिक परीक्षामै उत्तीर्ण दर भने निकै कम छ । आयोगका सूचना अधिकारी मरहठ्ठाले परीक्षामा ३२ हजार ९७ सहभागी भएकामा तीन हजार आठ सय ८६ मात्र उत्तीर्ण भएको बताए, जुन १२ प्रतिशत मात्रै हो ।

कतिपय प्रदेशमा प्रारम्भिकमै मागको हाराहारीमा मात्रै उत्तीर्ण भएकामा उनीहरूलाई विषयगत परीक्षा सहज हुने निश्चित भएको छ । मधेस प्रदेशमा एक सय ११ शिक्षक माग गरेकामा दुई हजार १५ आवेदकमध्ये जम्मा एक सय २० उत्तीर्ण भएका छन् ।

कर्णालीमा पनि मागअनुसार उत्तीर्ण संख्या कम छ । एक सय सात शिक्षक माग भएकामा एक सय ९१ मात्र उत्तीर्ण भएका छन् । यहाँ एक हजार चार सय ७३ आवेदन परेका थिए । त्यस्तै, सुदूरपश्चिममा एक सय १७ माग भएकामा तीन सय ६५ उत्तीर्ण भएका छन् । यहाँ तीन हजार चार सय ८७ आवेदन परेका थिए । नयाँ पत्रिकाबाट