Indrenionline.com

३० पालिकामा करिब ६ लाख मतपत्र पुन छापिदै

काठमाडौं, १८ बैशाख । अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले ३० पालिकामा पुनः मतपत्र छपाइ गर्नुपर्ने भएको छ । अनुमानभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेपछि ३० पालिकामा करिब ६ लाख मतपत्र पुनः छाप्नुपर्ने भएको आयोगले जनाएको छ ।

आयोगले शनिबारसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ गरिसकेको थियो । आयोगले यसपटकको निर्वाचनमा जिल्लाअनुसार मतपत्र छापेको थियो ।

विगत अनुभवका आधारमा राष्ट्रिय मान्यता प्राप्त ६ दल, जिल्लामा सक्रिय दलको संख्या र स्वतन्त्र उम्मेदवारीको अनुमान गरेर आयोगले विभिन्न जिल्लाका लागि १६ देखि ५६ लहरसम्मको मतपत्र छपाइ थालेको थियो । तर, कतिपय स्थानमा मतपत्रमा स्वतन्त्र उम्मेदवारीका लागि राखिएको निर्वाचन चिह्नको संख्याभन्दा उम्मेदवार संख्या बढी भएपछि मतपत्र पुनः छाप्नुपर्ने अवस्था आएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

४९ जिल्लामा मतपत्र ढुवानी
स्थानीय निर्वाचनका लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै जिल्ला, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । आइतबार लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाउने निर्वाचन आयोगको तयारी छ । हिमाली जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । आयोेगले १३ वैशाखदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । आयोगले करिब दुई करोड मतपत्र छाप्दै छ ।