Indrenionline.com

घोराही उपमहानगरपालिद्वारा कोरोना महामारीका बेला आर्थिक घोटाला

पहिलो चरणको कोरोना संक्रमणका बेला घोराही उपमहानगरले क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद शिर्षकमा मात्रै २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ खर्च गरेको विवरण देखायो ।

क्वारेन्टिनमा बसेकाहरुको खाना/खाजा खर्च समेत ब्यहोरेको जनाएको उपमहानगरले खाना र खाजामा ४ लाख ४२ हजार ४ सय ६ रुपैैयाँ खर्च भएको उसको प्रतिवेदनले देखाउँछ । उपमहानगरले यो अबधि सम्म २ हजार ३ सय ११ जना क्वारेन्टिनमा बसेको संख्या उल्लेख गरेको छ ।

क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद गरेको उल्लेख गरेको उपमहानगरले भवन निर्माण गरेको वा पाल खरिद गरेको उल्लेख गरेको छ । यसैगरि झुल , तन्ना , खाट ईलेक्ट्रिक सामान र बिछ्यौना खरिद गरेको उसको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरि क्वारेन्टिमा बसेकाहरुलाई टुथपेष्ट, ब्रस, तौलिया चप्पल ईत्यादी खरिद गरेको जनाएको छ । वडा तहमा क्वारेन्टिनको ब्यवस्थापन गरेका वडा कार्यालयहरुले क्वारेन्टिन ब्यवस्थापनमा भएको लागतलाई हेर्ने हो भने उपमहानगरले खरिदै नभएको सामान समेत खरिद गरेको देखाएर लाखौँ रकमको गलत बिबरण संघीय सरकारलाई पठाएको पुष्टि हुन्छ ।

अँझ खाना खर्च वापत लागेको खर्च साढे चार लाख रुपैयाँ त झनै झूठ सावित छ । जबकी उपमहानगरपालिकाले कुनै पनि वडामा सञ्चालन भएका क्वारेन्टिमा बसेकाहरुलाई खाना नै नखुवाएको वडा कार्यालयहरुको भनाईले छर्लंगै पार्छ । यि वडाहरुका अनुसार उपमहानगरपालिकाले सुत्नका लागि प्रति व्यक्ति एउटा म्याट, एउटा तन्ना र एउटा झूल मात्रै प्रदान गरेको हो । वडाहरुका अनुसार यि बाहेक उपमहानगरले खरिद भनिएको सामाग्री सबै झूठ हो ।

त्यसोत, आफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाईएको लाखौँ रकम खर्च उल्लेख गरिएको प्रतिवेदन सरासर भूठ हो भनेर उपमहानगरकै प्रतिनिधिहरुको भनाईले पुष्टि गरिदिन्छ । यो उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीको भनाईलाई आधार मान्ने हो भने उपमहानगरले मन्त्रालयमा बुझाएको प्रतिवेदन सरासर भूठ छ । उनले पनि उपमहानगरपालिकामा सञ्चालित क्वारेन्टिनहरुमा प्रति ब्यक्ति सुत्नका लागि एउटा म्याट,एउटा तन्ना र एउटा झूल प्रदान गरिएको बताए ।

आर्थिक बर्ष ०७६/०७७ मा क्वारेन्टिन व्यवस्थापनमा झूठो खर्च बिबरण पठाएको उपमहानगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ को पहिलो चौमासिकमा उनै खरिदै नगरिएका सामाग्रीको खरिद गरेको भनेर ३ लाख ३८ हजार ९ सय ४ रुपैयाँ खर्च विवरण संघीय सरकार समक्ष पेश गरेको छ ।