Indrenionline.com

नआऊ छेउ : रितु खनाल

कविता
शीर्षक – नआऊ छेउ
छन्द- शिखरिणी

तिमी फूल्दै जानू ! कुसुमसरि मेरा प्रियवर ।
सुकेको वैलेको म त झरिसकेको पतकर ।।
नछोऊ भो घोच्ला छुन पनि छ साँच्चै अब डर ।
झरेका छेस्काकाे भर अब नहाेला जति गर ।। (१)

नआऊ छेवैमा नसर वर जाऊ परपर ।
म डोरो छिन्नेको दिनपनि कहाँ सक्छु र भर ।।
न जागोस् त्यो इच्छा कठिन मुटुले त्यो प्रण गर ।
म भत्केको पाखो प्रियतम तिमी बीज न छर।। (२)

धरित्रीझैं बन्दै सकस म सहूँ ! लाखन अरु ।
मलाई टेक्ने ती कति पनि नथाकून् पदहरू ।।
म छाती यो थापी हरकदममा साथ दिउँला ।
बगे आँखा मेरा टपटप टिपी चप्प पिउँला ।। (३)

तिमी दुख्दा मेरो अति करुण रुन्थ्यो मन पनि ।
सहेँ धर्ती बन्दै चसचस बिझेका तन पनि ।।
तिमी बत्तीजस्ता अपितु म खरानी चरणको ।
जलोस् काया मेरो खबर नपुगोस् यो मरणको ।। (४)

थियो साह्रै छोटो मिलन मनको प्रेमपथमा ।
म बाटामा हिंड्दा शशिमय परी राख रथमा ।।
नदेखाओस् नौलो रहर न त ढाँटोस् समयले ।
न ता घोचोस् पोलोस् दिल अब नरोओस् विगतले ।। (५)

नहोस् पीडा यौटै प्रियतम नहोस् घाउ न ठुलो ।
भिजून् आँखा मेरा बरु म तकिया पार्छु बिटुलो ।।
अझै टाढै जाऊ वरपर कतै देख्नु नपरोस् ।
भनूँ ऐया-ऐया ! ज्वलित धुन याे सुन्नु नपरोस् ।। (६)

सुनाैला आँखाले रसमय कहानी पनि पढाेस् ।
कसैका मायाँमा प्रणय सुख झन्‌झन् बढिरहाेस् ।।
खुली लाली सारा चरम सुखकाे जीवन मिलाेस् ।
मलाई प्याराले तनमन नसुम्पे पनि पुगाेस् ।। (७)

©रितु खनाल
घोराही दाङ १५