Indrenionline.com

कोरोना संक्रमण दर : भारतमा पाँच गुणा बढ्यो, नेपालमा दोब्बर

काठमाडौं, २२ पुस । छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ, तर नेपाली नाकामा परीक्षण नगन्य छ, दैनिक भित्रिने हजारौँ नागरिक बेफिक्री गाउँगाउँ पुगिरहेका छन्

छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ । नेपालमा पनि एक सातामा संक्रमण दर दोब्बरले बढेको छ । यस्तो जोखिमपूर्ण अवस्थामा खुला सिमानाबाट दैनिक हजारौँ नागरिक ओहोरदोहोर गरिरहेका छन् । सरकारले नाकामा परीक्षण दर बढाउनुपर्नेमा आउने संख्याको तुलनामा झन् घटाएको छ।

भारतीय नाका हुँदै स्थलमार्ग र हवाईमार्गबाट आउनेहरू संक्रमित भेटिएका छन् । उनीहरूमा एस जिन नेगेटिभ देखिएको छ । यसको अर्थ ओमिक्रोन नै हो भन्ने हो । अहिलेको अवस्था हेर्दा जनवरीको अन्तिमतिर नेपालमा संक्रमण बढ्ने अनुमान छ ।

नेपालमा १४ पुसमा दुई सय २० नयाँ संक्रमित पुष्टि भएकामा २१ पुसमा चार सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या मात्रै होइन, संक्रमणदर पनि झन्डै दोब्बरले नै बढेको छ । दुई सय २० जनाको पजिटिभ रिपोर्ट आएको अघिल्लो बुधबार सात हजार ६ सय आठको नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर २.८९ प्रतिशत हुन्छ । बुधबार चार सय ३५ मा संक्रमण पुष्टि हुँदा भने १० हजार दुई सय ६९ नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर ४.२३ प्रतिशत हुन्छ ।

दुई साताअघिको तथ्यांकसँग तुलना गर्दा नेपालमा संक्रमण थोरै–थोरै गर्दै निरन्तर बढेको देखिन्छ । ४ पुसमा नौ हजार आठ सय ७२ नमुना परीक्षण गर्दा एक सय ८१ मात्रै पजिटिभ देखिएका थिए, जुन संक्रमणदर १.८३ प्रतिशत मात्रै हुन्छ । नयाँ पत्रिकाबाट